सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदम संविधानविरोधी, तत्काल खारेज गर्नुपर्छ : प्रचण्ड

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदम संविधानविरोधी, तत्काल खारेज गर्नुपर्छ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । उनले सरकारको यो कदम संविधानविरोधी भएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्,‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ ।’

दाहालले सरकारको यस निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र नभएर देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई समेत जटिल र असहज बनाएको दाबी गरेका छन् । उनले भनेका छन्,‘हाम्रो पार्टी सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा अडिग छ । त्यसैले संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम हो ।’

उनले संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले सरकारको उक्त निर्णय तत्काल खारेज गर्न जोडदार माग गरेका छन् ।