काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमाथि घात हुने को कि भन्ने खतरा बाँकी नै रहेको बताएका छन् । आज (बुधबार) पार्टीनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को ७औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानमाथिको खतरा नटरेको र अस्थिरता, अराजकता, बेथिति, भ्रष्टाचार संस्थागत भइरहेको बताएका हुन् । ‘अहिले हामीकहाँ समस्या छ । संविधानमाथि पनि घात हुने हो कि भन्ने खतरा टरेको छैन । अस्थिरता, अराजकता, बेथिति, भ्रष्टाचार संस्थागत भएकै छ,’– उनले भने ।
साथै, मन्त्री हुनका लागि सांसद हुनुपर्ने व्यवस्थाबाट भ्रष्टाचार जन्मिएको उनले बताए । आफूहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विज्ञहरुबाट मन्त्री चुन्ने व्यवस्था हुनुपर्ने कुरा संविधानसभामै उठाएको उनले बताए ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भयो भनेमात्रै देशमा स्थिरता हुने उनले बताए । ‘यो देशमा जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुँदैन, सम्पूर्ण जनताले चुनेको र त्यो कार्यकारी प्रमुखले विभिन्न विषयमा विज्ञहरु, विद्वानहरुलाई मन्त्री बनाउने, सांसद हुन नपर्ने । मन्त्री हुन सांसद हुनुपर्ने भएपछि भ्रष्टाचार त्यहीँबाट जन्मिएको छ । त्यसकारण एक पटक प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भइसकेपछि राष्ट्रपतिले आफ्नो कार्यकाल सफल पार्न र जनतासँग गरेको प्रतिवद्धता पूरा गर्न सबैभन्दा योग्य व्यक्ति कसलाई ठान्छ, त्यसलाई मन्त्री बनाउन पाउनुपर्छ,’– उनले भने ।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको निम्ति अपिल गर्नुपर्ने र आन्दोलित हुनुपर्ने आवश्यकता रहेको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा नगएसम्म देशमा स्थिरता नहुने र भ्रष्टाचारको अन्त्य पनि नहुने उनको भनाइ छ । साथै, अहिलेको निर्वाचन प्रणालीले पनि उत्पीडित वर्ग, समुदायलाई न्याय दिन नसकेको उनको भनाइ छ ।
उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भनेमात्रै जनताको पक्षमा काम गर्ने वातावरण बन्ने बताए । ‘हामीले जो निर्वाचन प्रणाली अपनाएका छौं, त्यो निर्वाचन प्रणालीले पनि सबै उत्पीडित वर्ग, समुदायलाई न्याय दिन सक्दैन । धनीहरुले मात्रै लड्न सक्ने चुनाव प्रणाली हो त्यो । गरिबहरु, श्रमिकहरु या किसानहरुले लड्न सक्ने चुनावी प्रणाली नै होइन त्यो । त्यसकारण पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भनेमात्रै सम्पूर्ण जनताले निर्वाचनमा सहभागी हुने, निर्वाचन जित्ने र त्यसबाट जनताको पक्षमा काम गर्ने वातावरण बन्न सक्छ भनेर हामीले त्यो पनि त्यतिबेला नै भनेका थियौं,’– उनले भने ।
अध्यक्ष प्रचण्डले सामन्तवाद राजनीतिक रुपले परास्त भए पनि दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद परास्त हुन नसकेको बताए । अहिले राज्य दल र दलको विचारले भन्दा पनि पुँजीपतिहरुको पैसाको बलले चलिरहेको प्रचण्डको भनाइ छ । ‘अहिले राज्य कसको हातमा छ भन्दा, यसो हेर्दा त पार्टीका नेताहरु, पार्टीहरुले राज्य चलाएका छन् भनेको जस्तो देखिन्छ । रूप हेर्दा कहिले माओवादी र कांग्रेस, कहिले माओवादी र एमाले, कहिले कांग्रेस र एमाले भनेको जस्तो देखिन्छ । तर, यथार्थमा राज्य पार्टी र पार्टीको विचारले भन्दा दलाल पुँजीपतिहरुको पैसाको बलले, विचौलियाहरुले करोडौं र अर्बौं खर्च गरेर पार्टीका नेता र कार्यकर्ता खरिद गरेर चलाएको व्यवस्था हो यो,’– उनले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार दलाल र विचौलियाहरुको इच्छाअनुसार बनेको दाबी गरे । वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराजकताको विरुद्धमा केही पनि गर्न नसक्ने प्रचण्डको जिकिर छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले जनजातिहरुलाई छानीछानी कारबाही गरेको उनले बताए । कुलमान घिसिङ, पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई जनजाति भएकै कारण राम्रो काम गर्दागर्दै पनि सरकारले हटाएको र अहिले उपसभामुख इन्दिरा राना हटाउन लागिपरेको बताए ।
‘राम्रो गर्न खोज्यो कुलमान हटाउ, राम्रो गर्न खोज्यो कान्छाराम हटाउ, अलि राम्रो गर्न खोज्यो इन्दिरा राना हटाउ । छानीछानी जनजाति हटाउ । छानीछानी राम्रो काम गर्ने मान्छे हटाउ । अनि आफूलाई फाइदा हुनेगरी दलाल र विचौलियाले भनेकोजस्तो मान्छे भर्ती गर । यही त अहिले भइराखेको छ,’– उनले भने ।