रूपन्देही-३ उपनिर्वाचन : उम्मेदवारी घोषणा गर्न ठूला दलमा अलमल, साना दलले थाले घरदैलो

रूपन्देही-३ उपनिर्वाचन : उम्मेदवारी घोषणा गर्न ठूला दलमा अलमल, साना दलले थाले घरदैलो

काठमाडौं। राजनीतिक दलहरूले आगामी कात्तिक १७ गते रूपन्देही-३ मा हुने उपनिर्वाचनको आन्तरिक तयारीलाई तीव्र पारेका छन्। ०७९ को आम निर्वाचनमा ठूलो जनमत प्राप्त दलहरू नै आपसी भिडन्तमा उत्रिने र नयाँ दलहरू पनि सशक्त तयारीका साथ अघि बढिरहँदा रूपन्देही–३ को उपनिर्वाचन रोचक बन्ने देखिएको छ।

रूपन्देहीको उपनिर्वाचनको लागि साना र नयाँ दलहरू तीव्र तयारीमा रहे पनि ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र भने मन्द गतिमा छन्।

यो उपनिर्वाचन भावी आम निर्वाचनको एक मानकको रूपमा समेत हेरिँदा नयाँ दलहरू तथा स्वतन्त्रहरू भने तीव्र तयारीमै जुटेका छन्। अर्कोतर्फ यो उपनिर्वाचनमा रास्वपा मुख्य आकर्षणको केन्द्र बनेको छ। किनकि सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने रूपन्देही कारागारमै चार महिनाभन्दा बढी बसेका थिए। जसलाई राजनीतिक प्रतिशोध भनेर रास्वपाले व्याख्या गरिरहेको छ।

उपनिर्वाचनको माहोलले ठूलाभन्दा साना राजनीतिक दलहरूलाई बढी छोएको छ। रूपन्देही-३ मा हुने उपनिर्वाचनका लागि साना दलहरूले धमाधम उम्मेदवार सिफारिश गरिरहेका छन् । तर, ठूला दलहरू अझै अलमलमा देखिएका छन् ।

रास्वपाले आइतबार साँझ सिद्धार्थनगर नगरपालिका–९ का बासिन्दा न्युरोलोजिस्ट डा.लेखजंग थापालाई उम्मेदवार घोषणा गरिसकेको छ । तर, थापा विवादमा मुछिएका छन् । डेढ महिनासम्म आन्तरिक उम्मेदवारी छनोट प्रक्रिया सञ्चालन गरेको रास्वपाले टुंगो लगाएलगत्तै अन्य दलले पनि धमाधम उम्मेदवार सार्वजनिक गर्न थालेका छन् ।

२०७९ सालको चुनावबाट उदाएको जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि धनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चौधरी साउन १८ गते जनमतमा प्रवेश गरेका थिए। त्यसअघि उनी नागरिक उन्मुक्ति पार्टीमा थिए।

२०७९ को प्रतिनिधिसभा चुनावमा चौधरी नाउपाबाट रूपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवार थिए। नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले उपनिर्वाचनको उम्मेदवारका लागि पार्टी महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिश गरेको छ।

भुसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेका थिए। आन्तरिक विवादले गुज्रिरहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट भने दुईजना उम्मेदवार उठ्ने सम्भावना देखिएको छ ।

पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले छुट्टाछुट्टै उम्मेदवार उठाउने तयारी गरेका छन्। यद्यपि, नाउपा निर्वाचन आयोगमा दर्ता छैन। संरक्षक चौधरीले उमाशंकर चौधरीको नाम टुंगो लगाएका छन्। अध्यक्ष श्रेष्ठले डा.सरोज चौधरीलाई उठाउने तयारी गरेकी छन्।

राप्रपाले एक महिनाअघि नै उम्मेदवारका लागि ६ जनाको नाम सिफारिश गरेको थियो । निवर्तमान सांसद दीपक बोहोराका छोराद्वय गौरव र प्रज्वल तथा दिलीपकुमार मल्लिकको नाम सिफारिश गरेको थियो ।

राप्रपाबाट दीपक बोहोराका जेठा छोरा गौरवले निर्वाचनमा आएर कार्यकर्ता भेला र भेटघाट गरिरहेका छन् । धेरै जनाले दाबी गरेका कारण निर्वाचनका क्रममा मनमुटावको जोखिम देखिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एक साताअघि पार्टी केन्द्रीय कार्यालयमा सबै आकांक्षीलाई एकजुट गराएर जो उम्मेदवार बने पनि एक-अर्कालाई सघाउने सहमति कायम गराएका छन्।

एक महिनाअघि आफ्ना शीर्ष नेताको सहभागितामा चुनावी सभा गरिसकेको संघीय लोकतान्त्रिक मोर्चा अहिले उम्मेदवारको खोजीमा देखिएको छ। मोर्चाले रूपन्देही-३ बाट नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

तर, धनीरामलाई जनमत पार्टीले उम्मेदवार घोषणा गरिसकेको छ। स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिले घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छन्। आफूलाई काठमाडौं महानगरपालिका प्रमुख बालेन साहका सहयोगीका रूपमा चिनाएका सन्तोष गिरी दुई महिनादेखि घरदैलो र भेटघाटमा व्यस्त रहेका छन्।

तर, ठूला राजनीतिक दलहरूले भने उम्मेदवार चयनलाई महत्व दिएको देखिएको छैन । गत निर्वाचनमा एमाले-राप्रपाबीच चुनावी तालमेल थियो । यसपटक एक्लै चुनावमा होमिने तयारीमा रहेको एमालेबाट प्रारम्भिक रूपमा चारजना आकांक्षी देखिएका छन् ।

यसपटक पोलिटब्युरो सदस्य खिमलाल भट्टराई प्रमुख दाबेदार देखिएका छन् । त्यस्तै, व्यवसायी शशि पौडेल, लुम्बिनी प्रदेश सदस्य हरिप्रसाद अधिकारी र यज्ञजित शाह पनि उम्मेदवारीका लागि आकांक्षी देखिएका छन् ।

गत निर्वाचनमा उपविजेता कांग्रेसले क्षेत्रीय स्तरमा कार्यकर्ता भेटघाट गरे पनि उम्मेदवारीको टुंगो लगाउन सकेको छैन । गत निर्वाचनमा कांग्रेस नेता बालकृष्ण खाँण उम्मेदवार बनेका थिए। उपनिर्वाचनको घोषणासँगै खाँण उम्मेदवारमा दोहोरिन सक्ने प्रचार गरिएको थियो । कांग्रेसले उम्मेदवार घोषणा गर्नेभन्दा पनि फिल्डमा पुगेर मतदाताको भावना बुझ्ने काम भइरहेको जनाएको छ ।

रूपन्देही–३ मा हुने उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध दलहरूबीच तालमेल अनिश्चित बनेपछि सबैले आ–आफ्नै तयारी थालेका छन् । मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक्लाएक्लै लड्ने भन्दै आन्तरिक तयारी गरेका हुन् ।

मोर्चामा आबद्ध नेकपा एस गएको चुनावदेखि नै माओवादीसँगै छ भने विप्लव नेतृत्वको नेकपा अन्योलमा छ । नेकपाले आफ्नो उम्मेदवार अघि नसारे पनि एक्लाएक्लै लडे माओवादीलाई सघाउन सक्छ। माओवादीका उपाध्यक्ष अग्नि सापकोटाले उपनिर्वाचनमा माओवादी एक्लै लड्ने दाबी गरेका छन् । माओवादीका अध्यक्ष प्रचण्डले पनि रूपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने दाबी गरेका छन् ।

माओवादीबाट हकिउल्लाह खाँ, मनिषकुमार जोशी, सोनिया यादव, फैजअहमत खाँ, वीरबहादुर रोक्का लगायतले आकांक्षा राखेका छन् । उपनिर्वाचनमा मिलेर जानेबारे अहिलेसम्म मोर्चा छलफल नभएको नेताहरूको भनाइ छ । नेकपा एसले उपनिर्वाचनका लागि महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिश गरिसकेको छ।