काठमाडौँ । न्याय परिषद्ले ६ जना जिल्ला अदालतका न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
सोमबार बसेको परिषद्को बैठकले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा कार्यरत गोकुलबहादुर निरौलालाई कैलाली जिल्ला अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।
प्रशासकीय अदालतका उपरजिस्ट्रार अरूणकुमार कोइरालालाई डडेलधुरा, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाललाई कालीकोट, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर, सर्वोच्च अदालतकी इजलास अधिकृत अनुपमा पन्तलाई धनुषा र कानुन मन्त्रालयका उपसचिव विश्वदीप बेस्रालाई रौतहटमा सिफारिस गरेको छ।
अब न्याय सेवा आयोगबाट नियुक्ति भएपछि उनीहरूले राष्ट्रिय न्यायिक प्रतिष्ठानको प्रशिक्षण पूरा गरी पदस्थापना हुनेछन्।
गत साउन ३० गते रिक्त २७ जना उच्च अदालतका न्यायाधीश सिफारिस भएपछि उच्च अदालतको रिक्त कोटा पूर्ण भएको छ। यसपटक जिल्ला अदालतका ६ न्यायाधीश सिफारिससँगै सम्बन्धित जिल्लाको कोटा पनि भरिएको छ। तर लोकसेवा आयोगबाट नियुक्त हुने २१ जना न्यायाधीशको कोटा अझै बाँकी छ भने सर्वोच्च अदालतमा एक न्यायाधीशको पद रिक्त छ।