संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान शुरु

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान शुरु

विराटनगर। संघीय लोकतान्त्रिक मोर्चाको ‘वर्तमान राजनीतिक अवस्था बारे जनजागरण अभियान’ शुरु भएको छ। सोमबार विराटनगरबाट शुरु भएको अभियान पहिलो चरणमा देशको आठ ठाउँमा संचालन गर्ने मोर्चाले जनाएको छ। जसअनुसार अब १८ गते राजविराज र २० गते जनकपुरधाममा कार्यक्रम हुनेछ।

विराटनगरको अतिथी सदनमा जनता समाजवादी पार्टी नेपालको समन्वयमा भएको कार्यक्रममा मोर्चाका शीर्ष नेतागणले सम्बोधन गरेका थिए। कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै समय यहाँ मंचमा बसेका सबै नेता एउटै पार्टीमा रहेको तर संगै काम नचलेर र विभाजित हुन पुगेको बताए।

‘सबै उत्पीडितहरुले आ–आफ्नो राष्ट्रिय पहिचान अर्थात जातीय पहिचान खोजेका छन। त्यसकारण राष्ट्रिय पहिचानसंगै सबै समुदायले प्रतिनिधित्व र स्वायत्तता तथा स्वशासन खोजेका छन्’, उनले भने।

जस्ले यो देशमा सबैको हक मारेर बसे सबै उत्पीडितहरु उस्कै पछि भ्रममा परेर अवसरको कारण लागेको अध्यक्ष यादवले बताए। ‘जोसंग लडेर अधिकार लिनुपर्ने उसैको पछि लागेर कहाँ अधिकार पाइन्छ?’ उनले प्रश्न गरे। भुमि ऐन ल्याउनु भनेको देशलाई वनजंगल मुक्त बनाउने र धन कमाउने योजना रहेको उनको दाबी थियो।

यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आदिवासी जनजाती जो मधेशी जस्तै यो देशमा राज्यविहिन जनताको रूपमा बाँच्न बाध्य भएको उनीहरुलाई फुटाउ र राज गरको नीति तहत कांग्रेस र एमालेले फुटाएर राखेको बताए। विगतको दिनमा मधेशी, थारु, आदिवासी जनजाती, दलित, पिछडावर्गहरुले छुट्टाछुट्टै एक्ला एक्लै संघर्ष गरेकाले असफल भएकाले मिल्नुको विकल्प नरहेको उनले बताए।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अधिकार पहिचानको लागि भएको आन्दोलनमा संघर्ष गरेका योद्धा साथीहरू माथि झुठा मुद्दा लगाई सरकारले जेलमा राख्ने काम गरेको बताए।

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले देश हाम्रो भएकोले राज्य पनि हाम्रो हुनुपर्ने भन्दै एउटा नवजात शिशुलाई नर्सले हेरचाह गरे झैं शेर बहादुर देउवा र केपी ओली संविधानको हेरचाह गर्ने नर्स मात्र भएकोले आमा जस्तो ममत्व उनीहरुमा नभएको बताए। कार्यक्रममा मोर्चाका शीर्ष नेताहरु उपस्थिति रहेको थियो।