काठमाडौँ – छोटो भिडियो (रिल) हेर्ने बानी मनोरञ्जनको सामान्य माध्यमजस्तो देखिए पनि यसको असर मस्तिष्कमा रक्सी र जुवाको लत सरह देखिएको एक नयाँ अध्ययनले पुष्टि गरेको छ।
‘न्यूरोइमेज’ जर्नलमा प्रकाशित अनुसन्धानअनुसार, रिल जस्ता छोटा भिडियोहरूले मस्तिष्कको कार्यशैलीमा गहिरो असर पार्छन् र ध्यान केन्द्रित गर्न असहज बनाउँछन्।
शोधअनुसार, यस्ता भिडियोले मस्तिष्कको इनाम प्रणाली (Reward Circuit) लाई अत्यधिक सक्रिय बनाउँछ, जुन मादक पदार्थ सेवन र जुवा खेल्दा पनि सक्रिय हुने देखिएको थियो।
यस प्रणालीको अत्यधिक सक्रियताले डोपामाइनको उत्पादन बढाउँछ, जसले मानिसलाई तात्कालिक आनन्द त दिन्छ तर बिस्तारै नियन्त्रण गुमाउने, ध्यान भंग हुने, र सामान्य जीवनशैली निरस लाग्ने अवस्थासम्म पुर्याउँछ।
स्क्रोलिङ लत कसरी बन्छ ?
अध्ययनका अनुसार, प्रत्येक स्वाइप र अटो–प्ले ट्रान्जिसनसँगै मस्तिष्कमा डोपामाइनको उत्सर्जन हुन्छ।
यो रसायनको निरन्तर झट्काले मस्तिष्कलाई बारम्बार “अरु हेर्ने” संकेत दिन्छ, जसले स्क्रोलिङको चक्र बनाउँछ।
समयक्रममा, डोपामाइनको उच्च उपस्थितिले मस्तिष्कको सामान्य इनाम अनुभव गर्ने क्षमता घटाउँछ, जसले गर्दा पढ्ने, सामाजिक भेटघाट, खाना खानु जस्ता क्रियाकलापहरूमा चासो घट्छ।
मस्तिष्कमा दीर्घकालीन असर
छोटा भिडियोहरू विशेषगरी मस्तिष्कको प्रि–फ्रन्टल कोर्टेक्स क्षेत्रमा असर गर्छन्, जुन निर्णय क्षमता, ध्यान केन्द्रित गर्ने र भावनालाई नियमन गर्ने कार्यमा संलग्न हुन्छ।
यस क्षेत्रमा निरन्तर उत्तेजना हुँदा मानिसले सानो कुरा बिर्सन, निर्णय गर्न कठिनाइ, र ध्यान केन्द्रित गर्न नसक्ने जस्ता समस्या भोग्न सक्छन्।
निद्रामा पनि असर
राति अबेरसम्म रिल हेर्ने बानीले शरीरको सर्काडियन घडी अर्थात् प्राकृतिक सुत्ने चक्रमा अवरोध ल्याउँछ।
मोबाइलको निलो प्रकाशले मेलाटोनिन उत्पादनमा ढिलाइ गराउँछ, जसको परिणामस्वरूप निद्रामा कमी, स्मरणशक्ति कमजोर, र मूड स्विङ जस्ता समस्या देखिन सक्छन्।
के गर्नु उचित ?
विशेषज्ञहरूले दिनको २५–३० मिनेटभन्दा बढी रिल नहेर्नु, सुत्नुभन्दा कम्तीमा आधा घण्टा अगाडि फोन बन्द गर्नु, नियमित व्यायाम, र परिवार तथा साथीहरूसँग समय बिताउनु जस्ता उपायहरू अपनाउन सुझाव दिएका छन्।
यसका साथै, स्क्रोलिङको सट्टा किताब पढ्ने, म्युजिक सुन्ने वा सिर्जनात्मक काममा लाग्नाले मस्तिष्कलाई सन्तुलनमा राख्न सकिने अध्ययनकर्ताहरूको भनाइ छ।