लोडसेडिङको अन्त्य राजनीतिक आँटले मात्र सम्भव भएको हो: प्रचण्ड

लोडसेडिङको अन्त्य राजनीतिक आँटले मात्र सम्भव भएको हो: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित “नेपालको ऊर्जा राज्यशिल्प र जलविद्युत् परिदृश्य : रणनीतिक प्राथमिकता, चुनौती र सम्भावना” विषयक राष्ट्रिय ऊर्जा संवादलाई सम्बोधन गर्दै उहाँले ऊर्जा र कृषिलाई गणतन्त्रको पहिलो सरकारले नै आधारभूत प्राथमिकता दिएको स्मरण गरे ।

अध्यक्ष प्रचण्डले गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा क्रान्तिकारी कदम चालेको बताए ।

“हामीले त्यसबेला लोडसेडिङ अन्त्य गर्ने मात्रै नभई, देशलाई ऊर्जा आत्मनिर्भर बनाउन दीर्घकालीन भिजन बनाएका थियौँ,” उनले भने ।

 

कृषिलाई दोस्रो प्राथमिकता दिँदै किसानको ऋण मिनाहा तथा समस्याको समाधानका लागि नीति कार्यक्रम ल्याइएको पनि उनले स्मरण गरे।

ऊर्जा र कृषिसँगै मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र सूर्यको खेतीबाट अर्को पूर्व–पश्चिम राजमार्ग निर्माणजस्ता योजना त्यही भिजनका हिस्सा भएको अध्यक्ष प्रचण्डले बताए।

“यो सबै नयाँ नेपालको सपना थियो, त्यो दिनदेखि नै सुरु गरिएको हो,” उनले भने ।

अध्यक्ष प्रचण्डले दोस्रो कार्यकालमा ऊर्जा क्षेत्रमा विशेष ध्यान दिँदै ‘उज्यालो अभियान’मार्फत लोडसेडिङ अन्त्य भएको स्मरण गरे ।

“जनार्दन शर्मालाई ऊर्जा मन्त्री बनाउने र कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याउने निर्णय परम्परागत ढाँचा भत्काएर नयाँ जनपक्षीय सेटिङ बनाउने राजनीतिक आँट थियो,” उनल स्पष्ट गरे ।

देशमा ऊर्जा विकासको सम्भावना भए पनि अवरोध पुर्‍याउने मुख्य कारण पुराना झण्झटिला कानुन र नियम अझै  परम्परावादी हुनु र नौकरशाहीको सोच पुरानो शैलीमै सीमित हुनु रहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

“पुरानो सेटिङ भत्काएर नयाँ, गतिशील र जनपक्षीय सेटिङ बनाउनैपर्छ,” उनले जोड दिए ।

अध्यक्ष प्रचण्डले स्व. पोस्टबहादुर बोगटीलाई ऊर्जा क्षेत्रमा नीतिगत स्थिरता दिने, महत्वपूर्ण परियोजना अघि बढाउने र छिमेकीहरूसँग सहकार्य विस्तार गर्ने नेताका रूपमा स्मरण गरे।


“बोगटीजस्तो इमान्दार र निष्ठावान् नेताको योगदानलाई राष्ट्रले सम्झनैपर्छ,” उनले भने ।

ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई केवल प्राविधिक व्यक्तिलाई मात्र श्रेय दिनू नेतृत्वको भिजन र योजनाको मुल्याङ्कन गर्ने दृष्टिम कमजोरी भएको बताउँदै अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्वको भिजन, रणनीति र आँट नै निर्णायक रहेको बताए ।

“यदि राजनीतिक नेतृत्वको भिजन र जोखिम लिन सक्ने क्षमता नभएको भए, त्यो क्रान्ति सम्भव हुने थिएन,” उनले स्पष्ट गरे ।

अध्यक्ष प्रचण्डले भारत र बंगलादेशसँग ऊर्जा व्यापारका लागि आफूले प्रधानमन्त्री हुँदा निरन्तर पहल गरेको स्मरण गर्दै, निजी क्षेत्रलाई नाफा कमाउने वातावरण बिना लगानी सम्भव नहुने बताए ।

“लगानीमैत्री वातावरण बनाउन माओवादी नेतृत्वकै सरकार दृढ रह्यो,” उनले भने।

हालको अस्वस्थ प्रतिस्पर्धा, संस्थागत अतिक्रमण र विधेयक पारित गर्न ढिलाइले ऊर्जा क्षेत्रमा प्रगति अवरुद्ध भएको भन्दै उहाँले सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे।

 

“विद्युत् ऊर्जा विधेयक छिट्टै पारित गरेर लगानी र विकासको बाटो खोल्नुपर्छ,” उनले स्पष्ट गरे ।

अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट आएको गणतन्त्र, संघीयता, समावेशीता र समानुपातिक प्रतिनिधित्व माओवादीकै नेतृत्वको उपलब्धि भएको बताए ।

“माओवादी हुँदा लोडसेडिङ अन्त्य भयो, राष्ट्रिय गौरवका आयोजना अगाडि बढे, शिक्षा र निजामती सेवा सम्बन्धी विधेयक दर्ता भए,” उनले स्मरण गराए ।

उनले कांग्रेस र एमालेलाई भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्तिका कारण आलोचना गर्दै भने, “यो सरकार डरबाट बनेको हो, यसबाट सुशासन र समृद्धिको आशा गर्न सकिँदैन ।”

अध्यक्ष प्रचण्डले हाल सालैको विभिन्न चुनावी परिणाममा जनताले माओवादीलाई विश्वास गर्दै गएको दाबी गरे ।


“जनताले बुझ्न थालेका छन्—देश बनाउन सक्ने शक्ति माओवादी नै हो,” उनले भने ।

अध्यक्ष प्रचण्डले ऊर्जा क्षेत्रलाई राष्ट्रिय हित, जनताको भावना र समृद्धिको आधार मानेर सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

“हामीले सामूहिक संकल्पमार्फत यो राष्ट्रलाई नयाँ युगतर्फ लैजान सक्छौँ । पोस्टबहादुर बोगटीजस्तो नेता नै हाम्रो प्रेरणा हुन्,” उहाँले पोस्टबहादुर बोगटीलाई स्मरण गर्दै भने।