काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले शेषनागले पृथ्वी थेगेको भन्ने कुरा दन्त्य कथामा सीमित भइसकेको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ फर्काएका छन्।
प्रचण्डले केही दिनअघिको एक सार्वजनिक कार्यक्रममा आफूले राजनीतिकको खाँबो थेगेको र पूरै जिम्मेवारी आफ्नो काँधमा छ जस्तो लाग्ने गरेको बताएका थिए।
‘अहिले म सरकारको नेतृत्वमा छैन। प्रमुख प्रतिपक्ष दलको नेता छु। तर, देशको राजनीतिको खाँबो मैले छोड्दिए भने भत्किहाल्छ जस्तो लाग्छ। गर्ल्यामगुर्लुम ढल्नी पो हो कि जस्तो लाग्छ। पूरै जिम्मा मेरै काँधमा जस्तो लाग्छ,’ प्रचण्डले भनेका थिए।
आज राजधानीमा आयोजित वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण बहस कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले शेषनागले पृथ्वी बोकेको कुरा विज्ञानले अर्कै प्रमाणित गरिसकेको भन्दै प्रचण्डलक्षित टिप्पणी गरे।
‘शेषनागले पृथ्वी बोकेको पनि छैन। शेषनागले पृथ्वी बोकेको पनि हुँदैन। त्यो त दन्त्य कथा हो। शेषनागले पृथ्वी बोकेको छ, यसो हल्लाइदियो भने भूकम्प आउँछ भनेको त दन्त्य कथा हो । आज विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यस कारणले यो पृथ्वी चल्छ। केही ढल्दैन, यो चल्छ,’उनले भने।