ओली इतरका शीर्ष नेताको निष्कर्ष : सचिवालयको निर्णय नमाने दुर्घटना

ओली इतरका शीर्ष नेताको निष्कर्ष  : सचिवालयको निर्णय नमाने दुर्घटना

काठमाडौं : नेकपा अध्यक्ष केपी ओली बाहेकका शीर्ष नेता सहभागी बैठकले यसअघि सचिवालय बैठकले गरेको निर्णय कार्यन्वयन गराउने निष्कर्ष निकालेको छ । आज बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास भैसेपाटीमा बसेको नेकपाका शीर्ष नेताहरुले सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको हो । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयसम्बन्धी विवादले नेकपाभित्र गम्भीर रुप लिएको छ।

विवाद टु्ंग्याउन विभिन्न तहमा पटकपटक वार्ता भए पनि अझै समझदारी बन्न सकेको छैन। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतका सचिवालय सदस्यहरु शुक्रबार बिहान खुमलटार पुगेका थिए। सर्वसम्मत निर्णय भएकोले यसलाई कार्यान्वयन हुनुपर्नेमा तीनै नेताको जोड रहेको थियो। पार्टीको माथिल्लो निकायले सर्वसम्मत रुपमा गरेको निर्णय कार्यान्वयन नहुँदा यसले दुर्घटना निम्त्याउने निश्कर्ष छलफलका निकालिएको स्रोतले बतायो ।

नेकपा सचिवालयले सर्वसम्मत निर्णय गरेको तीन दिन वित्दा पनि प्रधानमन्त्री केपी ओली यसलाई कार्यान्वयन गर्न सकारात्मक भएका छैनन्। उनले आफूविरुद्ध खेल भएको भन्दै सचिवालयको निर्णय मान्न वाध्य नहुने र अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने संकेत दिएका छन्। उता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका पूर्व अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाललगायतले सर्वसम्मत निर्णय कार्यान्वयन नभए यसले दुर्घटना निम्त्याउने चेतावनी दिइसकेका छन्।