नवलपरासी। चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट-दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् ।
नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा लामा पुललाई ठूला पुलको रूपमा राखेर निर्माण गरिएका छन् । ‘निर्माण भएका साना पुलमध्ये अधिकांशमा सवारीसाधन सञ्चालन भइसकेका छन्’, उनले भने, ‘निर्माण सकिएका दुई ठूला पुलसमेत सञ्चालनमा आइसकेका छन् ।’ यस खण्डमा १२ ठूला पुल निर्माण हुनुपर्नेमा पाँचवटा निर्माण सम्पन्न भएका छन् ।
निर्माण सकिएका पुलमा राजमार्गबाट पहुँच मार्ग निर्माण गर्न बाँकी रहेका कारण सवारीसाधन सञ्चालन नभएको सूचना अधिकारी खनालले बताए । आगामी असारसम्म थप तीन ठूला पुल निर्माण सम्पन्न हुने उनले जानकारी दिए ।
‘गैँडाकोटको जयश्री, बेल्डिहा, मध्यविन्दुको गिरुबारी र अरुणखोला पुल बाहेकका सबै पुल आगामी असारसम्म निर्माण सम्पन्न हुनेछन्’, उनले भने, ‘यी चारवटै पुलका जनशक्ति र उपकरण अहिले विनयी त्रिवेणी गाउँपालिकास्थित विनयी खोलाको पुल निर्माणमा परिचालन गरिएको हुँदा ती पुल निर्माणमा ढिलाइ हुने भएको छ ।’
अत्यधिक भारवहन गरेको सवारीसाधनका कारण केही साताअगाडि विनयी खोलाको पुरानो पुल भाँचिदा यातायात सञ्चालनमा समस्या आएका कारण त्यहाँ नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रित भएको सूचना अधिकारी खनालको भनाइ छ ।
गैँडाकोटबाट दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकखण्डमा यात्रा गर्दा ५२ दशमलव ५ किलोमिटर कालोपत्र गरिएको सडकमा यात्रा गर्न मिल्छ । ‘यस खण्डमा निर्माण भएका पुल, चोरमारा बजार, दुम्कीवास र दाउन्नेमा कालोपत्र गर्न बाँकी छ’, उनले भने, ‘दाउन्नेको चार किलोमिटर क्षेत्रबाहेक अन्य सबै ठाउँमा यो वर्खा अगाडि नै कालोपत्र सक्ने गरी काम भइरहेको छ ।’