विद्यार्थी नेताहरुलाई तत्काल रिहाई र प्रतिवन्ध फुकुवा गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग

विद्यार्थी नेताहरुलाई तत्काल रिहाई र प्रतिवन्ध फुकुवा गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग

काठमाडौँ : अनेराीववियु (क्रान्तिकारी) केन्द्रीय कार्यसमितिले जनयुद्व दिवसको अवसरमा देशव्यापी रुपमा शान्तिपूर्ण ढंगले प्रदर्शन गर्दा वर्तमान सरकारले आफ्नो संगठनका अध्यक्षदेखि इकाई सदस्य र समर्थकहरुलाई झुठो मुद्दा लगाएर जेलमा राखेको भन्दै तत्कालै उनीहरुलाई रिहा गर्न माग गरेको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त संगठनले सरकारले विद्यार्थीहरुमाथि जबरजस्ती झुठो मुद्दा लगाएर जेल हालेकोमा हिरासतमा राखिएका विद्यार्थी नेताहरुलाई तुरुन्तै रिहाईको माग गरेको हो । विगत केही समयदेखि अनेरास्ववियू (क्रान्तिकारी) संगठनमाथि वर्तमान सरकारले विना कारण प्रतिबन्ध लगाएकोमा पनि उसले गम्भिर आपत्ति जनाएको छ ।

कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकालले जनयुद्व दिवसको अवसरमा सरकारले विद्यार्थी नेताहरुलाई झुठो मुद्दा लगाएर जेल हालेको भन्दै सरकारको उक्त कदमप्रति घोर आपत्ति जनाए । उनले भन,‘२१ औँ शताब्दीमा केपी शर्मा ओलीको सरकारले जनताप्रति राणा शाषणजस्तै व्यवहार गरेको छ ।’ जनताको स्वतन्त्रतामाथि सरकारले दमन गरिरहेको उनको आरोप छ ।

उनले भने,‘हाम्रो संगठन बम र हातहतियार बोक्ने संगठन होईन, अनेरास्ववियू (क्रान्तिकारी) ले सदैव विद्यार्थी आन्दोलन र उनीहरुको हकहितको लागि काम गरिरहेको छ, हामी प्रगतिशिल दिशामा काम गरिरहेका छौं ।’ ढकालले प्रजातन्त्रमा सम्पूर्ण नागरिकले सरकारसामु आफ्ना कुरा राख्न पाउने अधिकार भएकोले यस्तो कुरामापनि सरकारबाट दमन हुनु भनेको गलत भएको टिप्पणी गरे ।

मुलुकको शिक्षा क्षेत्रलाई नयाँ प्रविधिसंग जोड्न जरुरी रहेको भन्दै त्यसतर्फ कदम चाल्नको लागि उनले सरकारको ध्यानाकषर्ण गराए । ‘अनुचित ढंगको गतिविधि गरे हामीलाई समेत कारवाही गर्नुस्’–ढकालले भने,‘म सार्वजनिक रुपमै यो कुरा भन्न चाहन्छु, पहिलो कुरा सरकार जिम्मेवारढंगले प्रस्तुत भए हामी पनि त्यही ढंगले प्रस्तुत हुन्छौं ।’ उनले आफूहरुको संगठनले कसैसंग पनि चन्दा नउठाएको दाबी गरे । उनले थपे,‘हाम्रो संगठनले कसैसँगपनि पैसा उठाएको छैन् । यदि संगठनको नामको जसले पैसा उठाएको थाहा पाउनुहुन्छ, तिनीहरुलाई निर्धक्क ढंगले कारवाही गर्नुस् । हामी यो विषयमा सधैं दृढसंकल्पित छौं ।’

सरकारले आफ्ना संगठनका अध्यक्ष, कोषाध्यक्ष, सचिवालय सदस्यहरु, केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्षहरु र अन्य सदस्यहरुलाई गैह्रन्यायीक गिरप्तार गरेको ढकालको आरोप छ । त्यतिमात्रै होईन, उनले हिरासतमा चरम यातना दिईएको पनि गुनासो पोखे । उनले भने,‘हामीमाथि लगाईएका झुट्टा मुद्धा र सरकारको दमनको हाम्रो संगठन घोर भ्रत्सर्ना गर्दछ ।’