बास्कोटामाथि आरोप लागेको हाे, मुद्दा लागेको छैन :प्रधानमन्त्री

बास्कोटामाथि आरोप लागेको हाे, मुद्दा लागेको छैन :प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित बागमती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बाँस्कोटामाथि कमिसनको आरोप लागेकाले उनले पद छाडेर छानबिनका लागि बाटो खोलिदिएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो । आरोप लागेको हाे, मुद्दा लागेको छैन ।’बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले सुनाए । भ्रष्टाचार भए नभएको छानबिन हुने भन्दै उनले भने, ‘यो आन्दोलनलाई बद्नाम गर्ने र नेताहरुको चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको छ ।’ यदि भ्रष्टाचार भएको भए कारबाही गर्ने तर झुटो आरोप लगाएको भए त्यसको प्रतिवाद गर्ने बताए ।

उनले सेक्युरिटी प्रिन्टर प्रकरणमा भ्रष्टाचार गरेको भन्दै आफूविरुद्ध पनि अख्तियारमा उजुरी परेको प्रसंग कोट्याए। ’मेरो पनि नाममा उजुरी हालेको रहेछ अख्तियारमा, त्यो उजुरी काम नलाग्ने पत्रु उजुरी हो भन्ने स्वतस्सिद्ध भएको छ’, उनले भने। सरकारमाथि झुटो आरोप लागिरहँदा पार्टीकै नेताहरुले काखी बजाइरहेको उनले गुनासो गरे।