समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हो : उपराष्ट्रपति पुन

समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हो : उपराष्ट्रपति पुन

स्याङ्जा : उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती भएको बताएका छन् । नेपाल मगर सङ्घ स्याङ्जाको आयोजना र वालिङको व्यवस्थापनमा आज सदरमुकाम वालिङमा आयोजित ३८ औंँ मगर एकता दिवस तथा मगर गुमष्ठा इमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले समृद्धिको शत्रु भ्रष्टाचार जरैदेखि नफाल्दासम्म देशको समृद्धि हुन नसक्ने स्पष्ट पारे ।

“केन्द्रमा सङ्घीय सरकारले हाम्रा शत्रुका रुपमा रहेका भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हटाउन लाग्नुपर्छ भने स्थानीय सरकारले जरैबाट फाल्न शुरु गरे मात्रै विकासले फड्को मार्दै जाने छ ।” मगर समुदाय सङ्घर्षशील, वीर, इमान्दार र कर्तव्यनिष्ठ समुदाय भएको बताउँदै उपराष्ट्रपति पुनले अब सबैको ध्यान विकास र आर्थिक समृद्धितर्फ हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मातृभाषाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउँदै मातृभाषा पठनपाठनको व्यवस्था मिलाउन पनि आग्रह गरे ।