नेकपा नेताहरूको एउटै स्वर :मिल्नुको विकल्प छैन

नेकपा नेताहरूको एउटै स्वर :मिल्नुको विकल्प छैन

काठमाडौँ : बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयसँगै तरङ्गित भएको नेकपाका शीर्ष नेताहरू एउटै मञ्चमा देखिएका छन् । बागमती प्रदेशस्तरीय भेलामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित छन् ।

पार्टी एकताबद्ध भएको सन्देश दिन नै शीर्ष नेताहरू एउटै मञ्चमा उपस्थित भएको नेताहरूले बताएका छन् ।कार्यक्रम सम्बोधन गर्दै नेता माधवकुमार नेपालले पार्टी भित्र केही समस्या देखिए पनि आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् ।‘तपाईँहरू यहाँ आउँदा मनमा धेरै आशङ्का लिएर आउनुभएको होला । अखबारहरूमा आएका समाचारले धेरै आशङ्का उब्जायो होला,’ प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘पार्टी भित्र समस्या छ । तर, समाधान हुन्छ । आत्तिनु पर्ने अवस्था छैन । यहाँबाट जाँदा तपाईँहरू नयाँ जोस लिएर जानुहुने छ ।’

नेता नेपालले पार्टीलाई तथा आन्दोलनलाई विघटनको दिशामा जान दिँदैनौँ भनेर सबैले प्रतिज्ञा गर्नुपर्ने पनि बताए । नेता नेपालले विवादलाई पार्टी भित्रै सीमित राख्नुपर्ने पनि बताए ।नेता ईश्वर पोखरेलले पनि माथिको विवाद माथि नै मिलाउने भन्दै नआत्तिन आग्रह गरे ।