काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनमत नभड्काउन चेतावनी दिएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्व राजा शाहले गरेको श्रृङखलाबद्ध गरेको कामको उल्लेख गर्दै संविधानको उलंङ्घन गरेको बताएका छन्।
उनले चैत १५ गते समाजवादी मोर्चा र तीनकुनेमा कार्यक्रम भएको बताउँदै उनले भृकुटीमण्डपमा शान्तिपूर्ण भएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले अराजक मान्छेलाई बोलाएर कमान्डर बनाएर हिंसा मच्चाएको भन्दै ओलीले पूर्वराजाले उन्मुक्ति नपाउने बताए। उनले भने, ‘कथित जनकमाण्डर तोकेर पूर्वराजाले हिंसा भड्काउने काम गर्नुभएको छ। पूर्व राजासँग भएको सहमति शाहले उलंघन गर्नुभएको छ।’
तीनकुने घटनामा संलग्नहरुमाथि जोसुकैलाई प्रशासनिक कारबाही गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए। ‘काठमाडौंको तीनकुनेको कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्विविधा समेत थियो। त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशंकाका आधार थिए। द्विविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरुको पनि थियो। तर तीनकुनेका आयोजकहरुले पहिले प्रशासनलाई जाकारी गराए अनुसार सभा गरेनन्, उत्तेजक प्रदर्शन र अराजनीतिक नारा सहित भीड सलबलाउन थाल्यो। सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित “जनकमाण्डर” आफैंले हाँकेको गाडी प्रहरीमाथि नै चढाउनेगरी निषेधित क्षेत्र तोड्न दौडाइयो। भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरियो।’ उनले भने, ‘हुँदा हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेण्टल स्टोरहरु लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरियो। निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आतातायी कार्य भयो। अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई बिस्फोट गराउने आतङ्ककारी काम समेत भयो। प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो। यी सबै निन्दनीय र खेदजनक कार्य हुन्। यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै होउन् जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कार्वाही हुन्छ।’
प्रधानमन्त्री ओलीले घटनामा संलग्नहरुमाथि छानबिन सुरु भएको जानकारी दिए। उनले भने, ‘यसका योजनाकार को हुन् र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ।’
उनले तीनकुने घटनको पृष्ठभूमिमा करिव १ वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक भएको बताए। ‘सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसै बेलादेखि क्रियाशील थियो। मौका खोजीरहेको थियो। धर्म, सँस्कृति, परम्पराजस्ता संबेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव विथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो। ऋण तिर्न पर्दैन भन्दै ऋणिहरुको भावनात्मक संवेदना माथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय थियो।’ उनले भने, ‘यसैबीच तत्कालिन राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै बक्तव्यवाजी गर्नुभयो। त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो। फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो। र, चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमाण्डर तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो।’
सम्झौताको उल्लंघन नगर्न चेतावनी
उनले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन नगर्न चेतावनी दिए। ‘प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको छ। त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन विताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यावसाय सञ्चालन गर्ने, पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको हो। हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री श्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद/व्यवस्थापन गर्नु भएको थियो।’ ओलीले भने,‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न। यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट–– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ? यी सबै घटनाको मुल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्छ।’
प्रधानमन्त्री ओलीले स-साना विषयमा बहस र विवाद चलाउने अवस्था नभएको बताए। उनले लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनको समय भएको धारणा राखे। उनले संविधान अस्वीकार गर्ने गैह्र कानुनी र गम्भीर अपराधको कार्य भइरहेको धारणा राखे। उनले संसद् गम्भीर भएर आपराधिक घटना रोक्न लाग्नुपर्ने स्पष्ट पारे।