जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा सडक जाम गरेर हत्यामा संलग्नहरुलाई कारबाहीको माग गर्नेहरुमाथि प्रहरीले बल प्रयोग गर्दा झडप भएको छ ।

प्रहरीले सहमतिबिना सडक खुलाउन खोज्दा आन्दोलन गर्ने समूहसँग झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास हानेका छन् । केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।

प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरेपछि आन्दोलनकारी तितर–बितर भएका छन् । अहिले जनकपुरधाम–जलेश्वर सडक संचालनमा आएको छ । विन्धीमा अहिले ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालित छन् ।

गत चैत २ गते होली खेल्ने क्रममा १५ वर्षीय आँशु यादवमाथि छुरा प्रहार गरी उनको हत्या गरिएको थियो । घटनामा संलग्न भन्दै प्रहरीले स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ । तर अन्य केही व्यक्ति फरार रहेको र उनीहरुविरुद्ध जाहेरी दिएपनि प्रहरीले पक्राउ नगरेको भन्दै पीडित परिवार र स्थानीय आन्दोलित बनेका छन् ।

मृतक आँशुका परिवार र स्थानीयले आज विहानैबाट सडक अवरुद्ध पारेको थियो । सडक खुलाउन आन्दोलनकारीमाथि सामान्य बल प्रयोग गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले बताए । उनका अनुसार अहिले सडक खुलेको छ । अबस्था सामान्य छ ।

सडक खुलाउन प्रहरीले गरेको लाठीचार्जबाट दर्जनौं व्यक्ति घाइते भएका छन् । डीएसपी सिंहले आश्रुग्यास प्रहार र घाइतेहरुको विवरण अहिले प्राप्त न भएको बताए । उनले अहिले घटनास्थलबाट बल्ल फर्किन लागेको बताए ।