काठमाडौँ । विपक्षी दलहरूका कारण आज पनि प्रतिनिधिसभा बैठक प्रभावित भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन।
आइतबार बिहान सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतकहरूको बैठकमा सत्ता पक्षले सदन खुलाउन विपक्षी दलहरूसँग अनुरोध गरेका थिए। उनीहरूले आफ्नो अडानबाट पछि नहट्ने बताएका थिए। जसका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको हो।
नेपाल विदयुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण प्रधानमन्त्रीको संसदमा जवाफ नआएसम्म अडानबाट पछि नहट्ने उनीहरूले बताएका थिए। प्रधानमन्त्री ओलीले सोमबार संसदमा सम्बोधन गर्ने सूचना संसद सचिवालयलाई पठाइसकेका छन्।
बैठकमा सभामुखले दुई दिनअघि भएको तिनकुने घटना लोकतान्त्रिकमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए। उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महशुस गराउन अपिल समेत गरेका थिए। अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाइ थियो।
तर,पनि विपक्षी दलहरूले सुन्न चाहेनन्। विपक्षी दलहरूको अवरोध जनाएपछि बिहीबार र शुक्रबार पनि संघीय संसदका दुवै सदनका बैठक अवरोध भएका थिए।