पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाहीको माग

पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाहीको माग

काठमाडौं । तीनकुनेसहितका ठाउँमा भएका हिंसात्मक घटना एवं प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने माग उठेको छ । राजनीतिक दलदेखि सामाजिक सञ्जालमा तीनकुनेको प्रदर्शन र घटनालाई हिंसात्मक भन्दै कारबाहीको माग भएको हो ।

संवैधानिक राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना तथा संघीयताको खारेजीसहितका माग गर्दै गत शुक्रबार भएको आन्दोलनले हिंसात्मक रूप लिएको थियो । संविधान र कानुनको उल्लंघन गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा मानवीय र भौतिक क्षतिका लागि पूर्वराजा शाह जिम्मेवार रहेको बताइएको छ । गणतन्त्र पक्षधर दल र नेताहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको मागसमेत गरेका छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका दलका साथै नेताले मानवीय तथा भौतिक क्षति हुने गरी भएको हिंसात्मक घटनाको भत्र्सना गर्दै विरोध गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शुक्रबार भएको हिंसात्मक घटनामा पूर्वराजा शाहको योजनामा भएको टिप्पणी गरेका छन् । शाहको निर्देशन र योजनामा सो घटना भएको बताउँदै उनले सरकारले निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गर्नुपर्ने जनाएका छन् ।

शुक्रबारको घटना पूर्वराजा ज्ञानेन्द्र शाहकै योजना र निर्देशनमा भएको बताउदै प्रचण्डले भने, ‘यही नै समय हो सरकारले कडा कदम चालोस् । अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याओस् र ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिँदैन ।’

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्तासमेत रहेका अग्निप्रसाद सापकोटाले शनिबार नै एक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले शाहकै योजना र निर्देशनमा हिंसात्मक घटना भएको बताउँदै गर्दा माओवादी केन्द्रका प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार यस्ता हिंसात्मक एवं आपराधिक कार्य गर्न–गराउन उक्साउने योजनाकार तथा प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जबाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’

उनले प्रदर्शनका कमान्डर दुर्गा प्रसाईले नै आफूले बिहीबार पूर्वराजसँग भेटेको कुरा सार्वजनिक गरेका कारण पूर्वराजाको योजनामा शुक्रबारको घटना भएको देखिने दाबी गरेका छन् ।

नेपाली कांग्रेसले शुक्रबार भएको हिंसात्मक घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले नै लिनुपर्ने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तीनकुने क्षेत्रको घटना तथा आगजनी’bout पूर्वराजा शाहको धारणा मागेका छन् । उनले शुक्रबार भएको घटना’bout पूर्वराजा शाहको धारणा माग गरेका हुन् ।

‘काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरूले जे हिंसात्मक र दुःखद घटना घटाए त्यसप्रति मेरो खेद छ, घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा घटेको हो वा होइन ? हो भने उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने त्यसको जबाफ दिनुपर्छ’, सिटौलाले भने । उनले पूर्वराजाले सरकारले दिएको सम्मान र सुरक्षाको ख्याल राख्नुपर्नेसमेत बताए ।

‘पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कंदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुनजुन कुरा उठान भएका छन्, त्यसको उपज शुक्रबारको घटना हो भन्ने बुझिन्छ’ सिटौलाले भने, ‘उहाँको निवासमा प्रदर्शनको सञ्चालन र तयारी’bout केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन् ।’

शाहलाई राजा हुँदाजस्तै व्यवहार नदेखाउनसमेत आग्रह गर्दै सिटौलाले भने, ‘राजा हुँदा पनि जनतामाथि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक ?’ राजाहरूको पटकपटकको लोकतन्त्रमाथि अतिक्रमणपछि गणतन्त्र आएको बताउँदै उनले भने, ‘गणतन्त्र अहिलेको महान् उपलब्धि हो, राजाहरूको पटकपटकको लोकतन्त्रमाथिको अतिक्रमण पछि गणतन्त्र आएको हो, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी र संघीयता आजको महान् उपलब्धि हो, यी उल्टिँदैनन् ।’

एमाले नेता महेश बर्तौलाले लोकतन्त्रले कुनै पनि विचारका आधारमा राजनीतिक प्रदर्शन गर्ने छुट भए पनि शुक्रबारको घटना राजनीतिक प्रवृत्तिको नदेखिएको जनाएका छन् । ‘तल मैदानमा कोको संलग्न भए तत्व्यक्तिहरू जिम्मेवार हुने कुरा भयो । मुख्यतया त यसमा पूर्वराजा ज्ञानेन्द्र नै हुन्, उनैका कारणबाट यी सबै घटना भएका हुन् । उनैले वारेस दिएर दुर्गा प्रसाईलाई मैदानमा खटाएका हुन्,’ उनले भने ।

त्यसकारण वारेस दिएर खटाइएका पात्र मात्रै यसमा जिम्मेवार नबन्ने बताउँदै उनले जसले वारेस दिए तीनलाई पनि यो घटनामा जघन्य फौजदारी कसुरमा कारबाहीको दायरामा पूर्वराजा शाहलाई ल्याउनुपर्ने बताए । भौतिक तथा मानवीय क्षतिमा पूर्वराजा शाहलाई उन्मुक्ति दिन नहुने उनले जनाएका छन् ।

यसैगरी रास्वपाले शुक्रबार तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनको न्यायिक छानबिन समितिको माग गरेको छ । शनिबार बसेको रास्वपाको सचिवालय बैठकले दोषीहरूलाई कानुनी दायरामा ल्याई कारबाही सुनिश्चित गर्न न्यायिक आयोग गठन हुनुपर्ने निर्णय गरेको हो ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले राजावादी समूहरूले काठमाडौंको तीनकुनेमा घटाएको हिंसात्मक घटनाको पृष्ठभूमिमा सरकार र प्रहरी प्रशासन गम्भीर रूपले असफल भएको बताएका छन् । प्रदर्शनकारीहरूले आगजनी र लुटपाट गर्दा सुरक्षा निकायहरू निष्क्रिय रहेको र केही सुरक्षा अधिकारीहले प्रदर्शनकारीलाई उक्साउने भूमिका निर्वाह गरेको आरोप पनि महतोले लगाएका छन् ।

यस्तै, आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शान्ति सुरक्षा कायम गर्न असफल भएको र सरकार हरेक मोर्चा एवं क्षेत्रमा असफल भएको बताउँदै उनले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने जनाएका छन् ।

गृहमन्त्री रमेश लेखकले शुक्रबारको घटनामा क्षति भएका स्थानको अनुगमनका क्रममा तोडफोड र आगजनीका घटना आपराधिक चरित्रको भएको टिप्पणी गरेका छन् । ‘छानी–छानी गणतन्त्रवादी विचार राख्ने नेता र पार्टी कार्यालयमा आक्रमण भएको छ, मानिस घरभित्र छ भन्ने थाहा पाउँदा पाउँदै बाहिरबाट आगो लगाइएको छ’ उनले भने, ‘कानुनबमोजिम अनुसन्धान गरेर कारबाही हुन्छ ।’

यस्तै, सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवस्था उल्टाउँछु भन्नेलाई अब सरकारले एक्सन लिने बताएका छन् । उनले अहिले आफूहरूको उदारतालाई राजावादीहरूले कमजोरी ठानेको पनि बताए ।

लोकतन्त्रले बोल्न र हिँड्न दिएको अधिकारलाई कमजोरी ठान्ने काम भन्दै पूर्वराजा शाहको सक्रियतामाथि उनले प्रश्न उठाए । ‘पूर्वराजा अहिले सामान्य मानिस हो । उसलाई हिँड्ने, डुल्ने, लागेको कुरा भन्ने अधिकार दिएका छौं हामीले । तर, हामीले दिएको उदारताको कुरालाई उनीहरूले कमजोरी ठाने ।’

तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोनलका कारण २ जनाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा आन्दोलनकारी, प्रहरीतर्फबाट सयौं जना घाइते भएका छन् । सरकारी, निजि, व्यावसायिकसहित राजनीतिक दललगायतका कार्यालय एवं घरहरूमा आगजनी, तोडफोड, लुटपाटसमेत भएको छ ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले पूर्वराजा शालाई पक्राउ गर्न माग गर्दै चलाएको ‘अरेस्ट ज्ञानेन्द्र शाह’ अभियान सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ ।

पक्राउ परेका नेतालाई २४ घण्टाभित्र रिहा नगरे देशैभरी आन्दोलन–रापप्रा
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पक्राउ परेका दुई नेता उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवलशमशेर जबरालाई सरकारले २४ घण्टाभित्र रिहा नगरे देशभरि विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा मिश्र, जबरासहितका नेता सहभागी थिए । उनीहरूलाई शुक्रबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । साथै, तीनकुनेकमा सरकारकै कारण हिंसात्मक घटना भएको राप्रपाको ठहर छ ।

राजसंस्था पुनःस्थापना पक्षधरहरूले गठन गरेको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले उनकै घरमा नजरबन्द गरिएको छ । प्रहरीले घटनापछि फरार रहेका प्रदर्शनका कमान्डर दुर्गा प्रसाईको खोजी भइरहेको जनाएको छ ।

यता, संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै शुक्रबारको घटनासँग जोडेर पूर्वराजालाई बदनाम नगर्न चेतावनी दिएका छन् । ‘श्री ५ महाराजाधिराजलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचार बाहिर आएको छ,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले त्यस्तो कदमको प्रतिवाद गर्ने चेतावनी दिँदै शुक्रबारको प्रदर्शन कसैको इसारामा नभएको दाबी गरेका छन् । ‘जनताद्वारा गरिने जनआन्दोलन कुनै पनि नेताको इसारामा चल्दैन, जनचाहना र जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै गर्छन्’ उनले भनेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबारको घटनासँग पूर्वराजालाई जोड्नु अनुपयुक्त हुने टिप्पणी गरेका छन् । ‘हिजोको घटनालाई अतिरञ्जित ढंगबाट बढाईचढाई प्रतिशोध लिन वा भ्रष्ट व्यवस्था र भ्रष्ट शासकका ज्यादती लुकाउन सकिन्छ भन्ने कसैले नसोचे पनि हुन्छ’, थापाले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

‘हिजो (शुक्रबार)को घटना वा कुनै समूहले गर्ने कार्यसँग राजालाई जोड्नु वा राजा र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई बदनाम गर्नु अनुपयुक्त छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई आठ लाख जरिवाना

पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाहीको माग हुँदै गर्दा यता काठमाडौं महानगरपालिकाले शुक्रबारको प्रदर्शनलाई लिएर पूर्वराजा शाहलाई ७ लाख ९ सय ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

राजसंस्था समर्थकहरूको प्रदर्शनका क्रममा सडक तथा सडकपेटीमा फोहोरमैला गरेको, रेलिङ भाँचेको, आगो निभाउन गएको दमकलमा तोडफोड गरेको लगायतका विभिन्न शीर्षकमा जरिवाना तोकेर नगर प्रहरीले पूर्वराजालाई पत्र पठाएको हो । यद्यपि सो पत्र आइतबार मात्रै पुग्ने बताइएको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डेले पूर्वराजा शाहले जरिमाना नतिरे कारबाही हुने बताएका छन् । महानगरले पूर्वराजा शाहलाई वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनअन्तर्गत १ लाख, रूखबिरुवा रेलिङ तोडफोड गरेबापत ४० हजार, तीनकुनेको आइल्यान्डमा तोडफोड गरेबापत २३ हजार, फोहोरमैला गरी वातावारण प्रदूषण गरेबापत १ लाख, ढुंगामुढा गरी दमकल फुटाएबापत १ लाख ३० हजार गरी विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिमाना काटेको हो ।

पूर्वराजाको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी

यसैबीच सरकारले पूर्वराजा शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी थालेको छ । दुर्गा प्रसाईको नेतृत्वमा शुक्रबार भएको हिंसात्मक प्रदर्शन उनैको नेतृत्वमा भएको र उनी विदेश भाग्ने आंशका भएपछि उनको राहदानी रद्द गर्ने तयारी भएको हो ।

गृहको उच्च स्रोतले भन्यो, ‘पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा आन्दोलन भएको छ । छानबिनपछि विदेश भाग्ने आशंकाले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको छ ।’ हिंसात्मक घटनामा संलग्नलाई कारबाही गर्न, शाहलाई देशबाहिर जान रोक लगाउन र उनले पाउँदै आएको सुविधा खोस्न मन्त्रीहरूले प्रस्ताव गरेका छन् । शुक्रबार रातिको मन्त्रिपरिषद् बैठकमा हिंसात्मक र आपराधिक गतिविधि’bout गम्भीर छलफल भएको थियो ।

पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारीसाधनमाथि तोडफोड गरेका थिए ।

राजधानी दैनिकबाट