भारत तीर्थ यात्राका लागि गएको गाडी दुर्घटना, ४ जनाको मृत्यु

भारत तीर्थ यात्राका लागि गएको गाडी दुर्घटना, ४ जनाको मृत्यु

रुपन्देही । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । तुलसीपुर–७ का वडाअध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईँसहित चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी तुलसीपुर–७ श्रीगैँ निवासी मोतिराम वलीको आमा ८० वर्षीय वृद्धाको मृत्यु भएको छ । यस्तै अरू दुई जनाको पनि मृत्यु भएको तर उनीहरूको नाम नखुलेको उनले बताए । गाडीमा नौ जना सवार रहेको र अरू घाइते भएको उनले जानकारी दिए । वडाअध्यक्ष जिसीले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । दुर्घटना बिहीबार दिउँसो ४ बजेतिर भएको हो ।

गाडीमा सवार सबै जना यात्रु तुलसीपुरकै रहेको प्रारम्भिक अनुमान गरिएको छ । गाडी पनि भारतीय नम्बर प्लेटको भए पनि तुलसीपुरकै रहेको खुलेको छ ।