काठमाडौँ । आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनको विषयमा शंकरदेव क्याम्पसमा स्ववियु सभापतिले स्ववियुको कोष दुरुपयोग गरि भर्ना गरेको विषय निकालेर तालाबन्दी गरिएको छ ।
स्ववियुले गरिब, पिछडिएका, अपाङ्ग तथा जेहनदार विद्यार्थीको नाममा रहेको कोषबाट स्ववियु सभापतिले चार सयभन्दा बढि विद्यार्थीको भर्ना गरिएको विषय उठेपछि एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको हो ।
‘स्ववियु सभापति नै फर्जी भर्ना गर्ने जस्तो गलत काममा लागेपछि हामिले छानबिनको माग गरेका हौ, फर्जी विद्यार्थीको भर्ना खारेज गरिनुपर्छ, अन्यथा निर्वाचन हुने वातावरण बन्दैन’ , शंकरदेव क्याम्स अनेरास्ववियु निकट एकजना नेताले बताए ।
स्ववियु सभापति शुसान्त बस्नेतले भने ‘अन्य संगठनले उठाएको विषय आफूले भर्ना गरेको विषय होइन अनेरास्ववियुले फर्जी भर्ना गरेको सूचना आएको छ । छानविन हुनुपर्छ भनेर मैले क्याम्पस प्रमख र निर्वाचन अधिकृतलाई भनिसकेको छु ।’
शंकरदेव क्याम्पस स्ववियु निर्वाचन अधिकृत धूर्व सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकोले अर्को सूचना नआएसम्म स्ववियु चुनाव स्थगित भएको सूचना निकालेका छन् ।