संसदमा तीन दलको सहकार्य : बोल्न दिए भोलि संसद अवरुद्ध नगर्ने चेतावनी

संसदमा तीन दलको सहकार्य : बोल्न दिए भोलि संसद अवरुद्ध नगर्ने चेतावनी

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा विपक्षी समाजवादी र राष्ट्रिय जनता पार्टीको साथ खोजेको छ । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको जवाफ मागेको कांग्रेसले मंगलबार संसदमा एकस्वरमा प्रस्तुत हुने प्रस्ताव राखेको छ ।

सिंहदरबारमा भएको छलफलमा तीन दलले मुद्दाका आधारमा सहकार्य गर्ने सहमति गरेका छन् । ‘अडियो प्रकरणलगायतका समसायिक विषयमा भोलि सबैलाई बोल्न दिने र त्यसका आधारमा सभामुखले रुलिङ गर्ने अवस्था बन्यो भने संसद चल्छ’ बैठकमा सहभागी कांग्रेस सांसद अत्तहर कमल मुसलमानले भने । विपक्षी दलहरुलाई आफ्ना कुरा राख्न नदिए सदनको अवरोध कायमै रहन सक्ने कांग्रेसले बताएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि कांग्रेसले सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्नुपर्ने, प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र छानविन गरेर कानूनी कारबाही गर्नुपर्ने माग राखेर संसद अवरुद्ध गरेको थियो । बास्कोटाले त्यही दिन राजीनामा दिइसकेका छन् भने यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि गरेको छ ।