काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा म्याद तामेल गर्न १५ दिन लागेको पाइएको छ।
अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले ४ फागुनमा कारण देखाऊ आदेश जारी गर्दै ७ दिनभित्र प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री अधिकारीलाई लिखित जवाफ पेस गर्न भनेको थियो । न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले यसअघि गिरीबन्धु प्रकरणमा सर्वोच्चकै संवैधानिक इजलासबाट जारी भएको परमादेशसँग सम्बन्धित मिसिल पनि झिकाएको थियो ।
सर्वोच्च अदालतबाट सिंहदरबारसम्म म्याद तामेल हुन १५ दिन लागेको छ । जबकि सर्वोच्च अदालत र सिंहदरबार एकआपसमा जोडिएकाले एकै दिनमा म्याद तामेल गर्न सकिन्थ्यो । सर्वोच्चले ४ फागुनमा आदेश जारी गरेकामा म्याद भने १९ फागुनमा मात्रै बुझेको पाइएको छ । सर्वोच्चबाट सिंहदरबारभित्रै म्याद तामेल गर्न १५ दिन लाग्नुमा भने मुद्दाको प्रत्यर्थीले म्याद बुझ्न नमानेकाले ढिलाइ भएको स्रोतले राजधानीलाई जानकारी दिएको छ । दुवै प्रत्यर्थीले म्याद बुझ्न नमान्दा तामेलदार तीनपटकसम्म सिंहदरबार धाउनुपरेको सम्बद्ध स्रोतले बतायो ।
झापाको गिरिबन्धु टी–स्टेटको विषयमा सर्वोच्चले गरेको फैसला कार्यान्वयन साटो अवरोध सिर्जना गर्न खोजेको भन्दै प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री अधिकारीविरुद्ध अधिवक्ता अर्यालले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । गत वर्ष २४ माघमा भएको सो निर्णय कार्यान्वयन गर्नुको साटो सर्वोच्चको परमादेशलाई निष्प्रभावी बनाउने उद्देश्यले अध्यादेश ल्याएको भन्दै अधिवक्ता अर्यालले अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।
सर्वोच्चले ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेपछि पनि प्रधानमन्त्री ओलीले विवादित भूमिसम्बन्धी अध्यादेश संघीय संसद्बाट स्वीकृत गराउन जोडबल गरिरहेका छन् । यद्यपि, राष्ट्रिय सभामा भूमि अध्यादेशको पक्षमा बहुमत नपुग्ने देखिएपछि उनी रोकिएका छन् । हाललाई सो अध्यादेश ‘होल्ड’ मा राखिएको छ । उनले ल्याएका ६ वटा अध्यादेशमध्ये ५ वटा दुवै सदनबाट स्वीकृत भइसकेका छन् ।
अधिवक्ता आर्यालले अदालतको फैसला कार्यान्वयनको साटो भूमिसम्बन्धी अध्यादेश जारी गरेर फैसला कार्यान्वयनमा बदनियतपूर्वक प्रत्यक्ष अवरोध गरेको, संवैधानिक इजलासको फैसला अवज्ञा गरेको तथा राज्यको सर्वोच्च कार्यकारी अधिकारको कपटपूर्ण प्रयोग गरी संवैधानिक प्रणालीप्रति विश्वासघात गरेको आधारमा अदालतको अवहेलनामा संलग्न कसुरदार पदमुक्त हुन सक्ने गरी वा यससम्बन्धी दण्डहीनताको रोकथाम तथा अन्त्य हुन सक्ने गरी न्यायिक आदेश वा टिप्पणी गर्नसमेत निवेदनमा माग गरेका थिए ।
गिरीबन्धु टी–स्टेटलाई प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्ले १३ वैशाख २०७८ मा ३ सय ४३ बिघा जग्गा साबिक प्रदेश १ भित्रै सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो । तत्कालीन अवस्थामा गिरीबन्धु टी–स्टेटलाई जग्गा सट्टाभर्ना गर्न दिने सो निर्णय खारेजीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, ओमप्रकाश मिश्र र भक्तराज भारतीसमेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सो निर्णयविरुद्ध परेको मुद्दामा तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सुष्मालता माथेमा, सपना प्रधान मल्ल र प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले ‘नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८÷१÷१३ को प्रत्यार्थी गिरीबन्धु टी–स्टेट प्रालिलाई ३४३–१९–१२ बिघा जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ ’ग’ लगायतका कानुनी प्रावधानअनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले सो निर्णय र सोबमोजिम भए गरिएका काम कारबाहीसमेत बदर हुने ठहर्छ,’ भन्दै उत्प्रेषणको आदेशले सो निर्णय र सोबमोजिम भए÷गरेका कामकारबाहीसमेत बदर हुने फैसला सुनाएको थियो ।
हदबन्दी छुट प्रदान गर्दाको अवस्थामा उल्लेख गरिएको सर्तबमोजिमको प्रयोजनमा जग्गाको प्रयोग वा उपयोग नगरी फरक प्रयोजनमा भए वा जग्गा खाली (बाँझो) राखिएको अवस्थाका जग्गाको पहिचान गरी तत्काल र अनिवार्य रूपमा सो हदबन्दीभन्दा बढी देखिएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम नेपाल सरकारको नाममा प्राप्त गर्न गराउन परमादेश जारी गरेको थियो ।
परमादेशसहितको फैसलाको पूर्ण पाठको जानकारी पाइसकेको अवस्थामा सोको कार्यान्वयन गरी गराई सम्मानित सर्वोच्च अदालतलाई जानकारी गराउनुपर्नेमा त्यसको विपरीत बदनियतपूर्वक फैसलाको अवज्ञा गरेको, फैसला कार्यान्वयन हुन नदिएको र फैसला कार्यान्वयनमा अवरोध गरिरहेको पनि निवेदनमा उल्लेख छ ।
‘प्रत्यर्थी नेपाल सरकारको प्रधानमन्त्री पदमा रहनुभएका श्री केपी शर्मा वली तथा प्रत्यर्थी मन्त्रालयको मन्त्री पदमा रहनुभएका श्री बलराम अधिकारीबाट भएको कार्य सर्वथा अनुचित, गैरकानुनी तथा गैरसंवैधानिक मात्र नभई प्रथम दृष्टिबाटै अदालतको अवहेलनायुक्त कसुरजन्य रहेको छ निवेदनमा भनिएको छ,’ ‘सम्माननीय प्रधानमन्त्री तथा माननीय मन्त्रीस्तरबाट सम्मानित सर्वोच्च अदालत, संवैधानिक इजलासबाट जारी भएको परमादेशको अनवरत रूपमा अवज्ञा गरिनु, फैसला कार्यान्वयनमा प्रत्यक्ष अवरोध गर्नु संवैधानिक नैतिकताको उल्लंघन पनि हो ।’ ‘अनुचित स्वार्थसिद्धिका लागि सर्वोच्च कार्यकारी पदमा आसीन व्यक्तिले संविधान, संवैधानिक लोकतन्त्र तथा स्वतन्त्र न्यायपालिकाको उपहास गरेको कार्य क्षम्य हुन सक्दैन,’ रिट निवेदनमा भनिएको छ ।
न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (१) ले सर्वोच्च अदालतले आफ्नो आदेश वा फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही चलाउन सक्ने र उपदफा (४) ले अवहेलना गरेको ठहरेमा १ वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्ने व्यवस्था गरेको छ ।
अदालतको अवहेलनाको कारबाही चलाउँदा, सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ को उपनियम (२) ले अदालतको अवहेलनासम्बन्धी उजुरीको सम्बन्धमा सुनुवाइ गर्ने इजलासले विपक्षीको बयान गराउन वा अवधि तोकी विपक्षी स्वयं उपस्थित भई वा कानुनबमोजिम वारिसमार्फत लिखित स्पष्टीकरण वा प्रतिउत्तर पेस गर्न लगाउन सक्ने व्यवस्था गरेको छ । उपनियम (४) ले अदालतको अवहेलना मुद्दाको अन्तिम टुंगो नलागेसम्मका लागि कुनै कार्य गर्न वा नगर्न आदेश दिन सक्ने व्यवस्था गरेको छ ।
ओली नेतृत्वको मन्त्रिपरिषद्को १३ वैशाख २०७८ सालमा बसेको बैठकले गिरिबन्धु टी–इस्टेटलाई झापाको बिर्तामोड नगरपालिका–६ मा रहेको ३ सय ४३ बिघा १९ कठ्ठा १२ धुर जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (२) र भूमिसम्बन्धी नियमहरू २०२१ को नियम १६‘क’को उपनियम (६) अनुसार स्तरहरू तोकी सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो ।
सो निर्णय गर्नुअगाडि नै ओली नेतृत्वको सरकारले नै २०७६ सालमा भूमिसम्बन्धी ऐन २०२१ मा आठौँ संशोधन गरी उद्योगको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा बिक्री, सट्टापट्टा र स्थानान्तरण गर्ने व्यवस्था गरेको थियो । मूल ऐनको दफा १२ पछि थपिएकोमध्ये दफा १२‘ग’ को उपदफा (१) मा जग्गा बिक्री तथा उपदफा (२) मा सट्टापट्टा गर्न पाउने व्यवस्था गरिएको हो ।
आठौँ संशोधनपछि कार्यान्वयनमा आएको दफा १२ ‘ग’ को उपदफा (१)मा ‘…उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्था कुनै कारणले विघटन हुने भएमा वा लिक्विडेसनमा जाने भएमा त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको दायित्व फरफारख गर्ने प्रयोजनको लागि यस ऐनको अधीनमा रही नेपाल सरकारको स्वीकृतिमा बिक्री वितरण गर्न बाधा परेको मानिनेछैन’ भनिएको छ । यस्तै, दफा १२‘ग’ को उपदफा (२) मा ‘नेपाल सरकारको सूचित आदेशद्वारा तोकिएको हदबन्दीभित्रको जग्गामा स्थापित कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्था अन्यत्र स्थानान्तरण गर्नुपर्ने वा सट्टापट्टा गर्नुपर्ने उचित र पर्याप्त कारण देखाइदिएको निवेदन मनासिब देखिएमा त्यस्तो कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले भोगचलन गरिरहेको जग्गा यस ऐनको अधीनमा रही नेपाल सरकारले तोकेको सर्तबमोजिम अर्को ठाउँमा सट्टापट्टा वा स्थानान्तरणका लागि स्वीकृति दिन सक्नेछ’ भनिएको छ ।
मूल ऐनमा आठौं संशोधन हुनुअगाडिसम्म हदबन्दीभन्दा बढी रहेको जग्गा कम्पनीले बिक्री वितरण, सट्टापट्टा र हक हस्तान्तरण गर्न नपाउने व्यवस्था थियो । अझ गिरिबन्धु टी–इस्टेटसहितका उद्योगलाई त जग्गा चिया उद्योगको काममा रहेसम्म मात्रै हदबन्दीमा छुट दिने निर्णय भएको भनेर तत्कालीन सरकारले राजपत्रमार्फत सूचना नै प्रकाशन गरेको थियो । जसलाई ११ पुस २०२९ सालमा राजपत्रमा सूचना जारी गरिएको थियो ।
२०२१ सालमा जारी भएको भूमिसम्बन्धी ऐनमा तराईमा २८ बिघाभन्दा बढी जग्गा भए सरकारीकरण हुने व्यवस्था गरेको थियो । तर, गिरिबन्धुहरूले चिया उद्योग दर्ता गरी आफ्नो जग्गा कम्पनीको नाममा राखेपछि हदबन्दीको व्यवस्थाले उनीहरूको जग्गालाई केही भएन । कानुनअनुसार सो जग्गामा चिया खेती मात्र गर्न पाइन्थ्यो । चिया खेती गर्न छोडेपछि हदबन्दी छुट पाएको जग्गा कानुनतः सरकारको हुनुपर्नेमा पछिल्लो समय सोही जग्गालाई साटफेर गरेर बिक्री वितरण गर्ने योजना बनाइयो । गणतन्त्र आएपछि पनि सरकारले उद्योगलाई दिएको हदबन्दीको छुटसम्बन्धी व्यवस्थामा परिमार्जन गरेन । भूमिसम्बन्धी आठौं संशोधनमा पनि उद्योगलाई हदबन्दी छुटसम्बन्धी व्यवस्थालाई कायम राखियो । गिरिबन्धु टी–इस्टेटको खर्बौं मूल्यको सो जग्गा हत्याउन भू–उपयोग ऐन २०७६ मा संशोधन गरिएको थियो । त्यसमा हदबन्दी लागेका जग्गाहरू अन्यत्र सस्ता जग्गा दिएर साट्न पाइने व्यवस्था गरियो । सोहीअनुसार गिरिबन्धु टी–इस्टेटको जग्गा हत्याउने भूमाफियाले योजनामा ओली नेतृत्वको सरकारले साथ दिएको थियो ।
गिरिबन्धु टी–इस्टेटको क्षेत्रफल ३ सय ४३ बिघा १९ कठ्ठा १२ धुर छ । त्यसमध्ये ५१ बिघा २०६०÷६१ सालमै सट्टापट्टा तथा बिक्री वितरण भइसकेको थियो । सर्वोच्चको फैसलासँगै यसअघि बिक्री भएको ५१ बिघा सो जग्गा पनि फिर्ता हुने भएको छ । केही जग्गा मजदुरलाई बाँडिएको छ । हल गिरिबन्धु टी–इस्टेटको नाममा २ सय ८० बिघा मात्रै जग्गा रहेको छ । टी–इस्टेट स्थानान्तरण गरेर बिर्तामोडस्थित जग्गा बेचबिखन गर्नकै लागि सञ्चालकको समेत मिलेमतोमा केही वर्षअघिदेखि उद्योग बन्द गरिएको छ । चियाका बिरुवा निकै पुराना भएका, कम्पनी धेरै वर्षदेखि घाटामा चलिरहेको, नजिक राजमार्ग भएकाले वायु प्रदूषित बनेकोलगायत कारण देखाउँदै बिर्तामोडको टी–इस्टेट बन्द गरेर स्थानान्तरण गर्ने सञ्चालक समितिको प्रस्ताव छ ।
भूमाफियाले जग्गा प्लटिङ गरेर बिक्री गर्ने योजना तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमै गरेका थिए । त्यतिबेला बिचौलियाले भूमिसम्बन्धी ऐन संशोधन गराएर सो जग्गा हत्याउन खोजेका थिए । तर, त्यतिबेला उनीहरू सफल भएनन् । ज्ञानेन्द्र शाहको पालामा हुन नसकेको काम एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले ऐन संशोधन गरेर माफियालाई सजिलो बनाउने काम भयो ।
ओली नेतृत्वको सरकारले हदबन्दी छुट पाएको जग्गा साटफेर तथा बिक्री वितरण गर्न दिन मिल्ने गरी २०७६ सालमा संसद्बाट पारित भएको कानुनका आधारमा भूमिसुधार मन्त्रालयले २०७७ सालमा नियमावली जारी गरेको थियो । सर्वोच्चको फैसलाअनुसार ओलीले भूमाफियालाई सहज बनाउन संसद्ले बनाएको ऐन र आफैंले बनाएको नियमावलीसमेत मिचेर सरकारले चिया बगानको जग्गा साटफेर गर्ने अनुमति दिएको थियो ।
राजधानी दैनिकबाट