कुलमानलाई शून्य अंक दिइएकोबारे ऊर्जामन्त्री खड्काले दिए यस्तो जवाफ

कुलमानलाई शून्य अंक दिइएकोबारे ऊर्जामन्त्री खड्काले दिए यस्तो जवाफ

तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कुनै चलखेल नगरीपदबाट हटाउन सकिने बताएका छन् । 

तनहुँमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगर्ने दाबी पनि गरे ।

‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ ? सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ । आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ,’ मन्त्री खड्काले भने ।

उनले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्‍याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरे ।

नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा मन्त्री खड्काले भने, ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ ? यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अंक प्राप्त गर्न नसक्नुभएको हो ।’

कुलमानलाई भएको मूल्यांकनबारे बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले पनि प्रश्न गरेका छन् ।