सुनसरीमा स्वाइनफ्लु, बंगुर ओसारपसारमा प्रतिबन्ध

सुनसरीमा स्वाइनफ्लु, बंगुर ओसारपसारमा प्रतिबन्ध

विराटनगर । सुनसरीमा अफ्रिकन स्वाइनफ्लु पनि भेटिएको छ । केही दिनअघि सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु भेटिएको थियो । दुहबी नगरपालिकामा अफ्रिकन स्वाइनफ्लु भेटिएको हो ।

गत ७ फागुनमा सुनसरीको कोशी गाउँपालिका-६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु देखिएको थियो । त्यसका एकसाता पछि अर्थात १३ फागुनमा दुहबी नगरपालिका–९ र १० मा अफ्रिकन स्वाइनफ्लु भेटिएको हो ।

दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारका अनुसार १३ फागुनमा परीक्षण गर्दा अफ्रिकन स्वाइनफ्लु भेटिएको हो । स्वाइनफ्लुबाट २५ वटा बङ्गुर मरिसकेको उनले बताए । स्वाइनफ्लु देखिएपछि १५ दिनका लागि बङ्गुर ओसारपसार र मासु बिक्री वितरणमा रोक लगाइएको उनले बताए ।

उनका अनुसार वडा नम्बर ९ को छाताबेली चोक र चौधरी टोल, वडा नम्बर १० को बालकुञ्ज, धाबी टोलमा बङ्गुर मरेपछि प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरेर पठाइएको थियो ।

‘हामीलाई जानकारी आएपछि शंका लागेर प्रदेश ल्याबलाई बोलाएका थियौं, प्रदेशले नमुना संकलन गरी केन्द्रीय ल्याबमा पठाएको थियो,’ उनले भने, ‘केन्द्रीय ल्याबबाट अफ्रिकन स्वाइनफ्लु प्रमाणित भयो ।’

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले दुई वटा फ्लु देखिएपछि उच्च सतर्कता अपनाइएको बताए । चार किल्ला सिल गरेर नियन्त्रणका लागि प्राविधिक टोलीले काम गरिरहेको उनको भनाइ छ ।