कुन देशसँग कति छ सुन ? यी हुन् सुन धेरै भएका १० देश

कुन देशसँग कति छ सुन ? यी हुन् सुन धेरै भएका १० देश

काठमाडाैँ । हजारौं वर्षदेखि मानिसहरूलाई मोहित बनाउँदै आएको सुन जति दुर्लभ छ, जति सुन्दर छ; यसको उत्पत्ति कथा उत्तिकै रोचक छ। सुनको उत्पत्ति पृथ्वीमा भएको होइन। यो त पृथ्वीभन्दा पुरानो हो।

वैज्ञानिकहरूका अनुसार जति बेला सौर्यमण्डल भर्खर विकास हुँदै थियो, जति बेला पृथ्वी भन्ने ग्रह बनेकै थिएन, त्यति बेला अन्तरिक्षमा ताराहरू विस्फोट हुने र एकअर्कासँग ठोक्किने क्रम चलिरहन्थ्यो। त्यसरी नै ताराहरू विस्फोट हुँदा सुनका परमाणु अन्तरिक्षमा छरिन्थे। सुन र अन्य विभिन्न धातुका परमाणु संकलित हुँदै ग्रहहरू बने, जसमा पृथ्वी पनि एक हो।

पृथ्वी भर्खर भर्खर बन्ने क्रममा रहेका बेला सुनको परमाणु मिसिएका उल्कापिण्डहरू खसे। अन्तरिक्षबाट तीव्र गतिमा पृथ्वीमा खस्दा सुनका ती परमाणु जमिनको गहिराइमा पुगे। समयक्रममा पृथ्वीको आयु बढ्दै जाँदा जमिनको गर्भमा रहेका सुनका अंश खोल्साखोल्सी र पहाडको सतहमा देखापर्न थाले।

यसरी जमिनको गर्भमा रहेको सुनको पहिलो खोज कहिले र कहाँ भयो, त्यसको इतिहास ठ्याक्कै यकिन छैन। सुनजस्तो मूल्यवान धातु पहिलोपटक देख्ने भाग्यमानी मान्छे को थियो, यसबारे पनि इतिहास अन्जान छ।

तर पक्कै पनि त्यो एउटा अचम्मको क्षण हुनुपर्छ, जब मान्छेले पहिलोपटक सुन देख्यो। कल्पना गर्नोस् त, आजभन्दा हजारौं वर्षअघि एउटा आदिम मान्छे कुनै खोलाको किनारमा हिँड्दै छ।
घामको प्रचण्ड ताप र सँगै कलकल बगिरहेको खोला; त्यही क्षण गर्मीले आँत सुकेर खोलाको चिसो पानी खान निहुरिएको त्यो आदिम मान्छेको आँखा कुनै चम्किलो वस्तुको प्रकाशले चकाचौंध हुन्छ।

खोला वरपरका फुस्रा ढुंगाहरूको थुप्रोमा त्यो सुनको टुक्रा अँध्यारोमा दियोझैं देखिन्छ। समय र मौसमले गलाउन नसकेको त्यो चम्किलो पहेँलो ढुंगा आदिम मान्छेले टपक्क टिपेर हत्केलामा लिन्छ।

ओल्टाइपल्टाइ हेर्छ। त्यसअघि कहिल्यै नदेखेको त्यस्तो चिल्लो र गह्रुंगो चिज के होला भनेर अचम्म मान्दै सुम्सुम्याउँछ। उसले त्यसलाई घर लगेर सुरक्षित राख्छ। वर्षौं वर्ष घरमा राख्दा पनि खिया नलागेको र नबिग्रेको देखेपछि उसले त्यो ढुंगालाई देउताकै उपहार ठान्छ।

सायद त्यो आदिम मान्छेलाई थाहा थिएन, समयक्रममा देउताको उपहार मान्छेको निम्ति समृद्धिको प्रतीक बन्नेछ। मान्छेले सुनको चम्किलो खजाना फेला पारेको धेरै समयपछि मात्र गरगहनाका रूपमा प्रयोग गर्न थालेको विभिन्न अनुसन्धानले देखाएको छ।

खासगरी मानव सभ्यता कृषि युगमा प्रवेश गरेपछि जब राज्यको अवधारणा सुरू भयो, तब सुनलाई शासकीय वैभवका रूपमा लिइयो। राजाहरूले सुनको खजानामा नियन्त्रण जमाए र यसलाई आफ्नो शक्ति र समृद्धि प्रदर्शनको साधन बनाए।

सुनबाट बनेका सबभन्दा पुराना वस्तु बुल्गेरियामा भेटिएका छन्, जुन करिब ४,५०० ईसापूर्वको हो। यसबाहेक प्राचीन मिश्र, मेसोपोटामिया र चीनमा पनि सुनलाई बहुमूल्य धातुका रूपमा प्रयोग गर्ने चलन थियो। उनीहरूले गरगहना बनाउन, मन्दिर सजाउन र शक्ति प्रदर्शन गर्न सुन प्रयोग गर्थे। करिब ६०० ईसापूर्वमा सुनलाई पहिलोपटक सिक्काका रूपमा प्रयोग गरिएको इतिहास छ। यसको सुरूआत अहिलेको टर्कीमा रहेको लिडियाका मानिसहरूले गरेका थिए।

त्यसपछि भने सुन सजावटको सामग्री मात्र रहेन, आर्थिक कारोबारकै हिस्सा बन्यो। रोमन, चिनियाँ लगायत संसारका धेरै साम्राज्यले आपसी व्यापारमा सुनको प्रयोग सुरू गरे। नेपालमा पनि लिच्छवि, मल्ल र शाहकालको सुरूआतसम्म सुनका सिक्का प्रचलनमा रहेको पाइन्छ।

सुन भण्डारण

संसारभरका मुलुकहरूका लागि सुन अझै पनि प्रमुख सम्पत्ति हो। सबै देशका केन्द्रीय बैंकले आर्थिक अस्थिरतासँग जुध्न ठूलो मात्रामा सुन भण्डार गरेका छन्। वर्ल्ड गोल्ड काउन्सिलको पछिल्लो तथ्यांकअनुसार संयुक्तराज्य अमेरिका अझै पनि सबभन्दा धेरै सुनको स्टक राख्ने देश हो। विश्वको कुल सुन भण्डारको एक चौथाइभन्दा बढी अमेरिकासँग छ। यो उसले दशकौंदेखि जम्मा गरेको हो।

अमेरिकासँग अहिले ८१३३ टन स्टक छ। यसको मूल्य ६६२ अर्ब अमेरिकी डलर हुन्छ। अमेरिकापछि दोस्रो स्थानमा जर्मनी छ भने इटाली र फ्रान्स पनि शीर्ष चारमा छन्। चीन र रूसले पनि आफ्नो सुन भण्डार बढाइरहेका छन्।

चीनले सुन भण्डार बढाउनुको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलरको निर्भरता कम गर्नु हो। त्यस्तै, युक्रेन युद्धपछि उत्पन्न पश्चिमी प्रतिबन्धका कारण रूसले आर्थिक सुरक्षाका लागि सुन भण्डार बढाइरहेको छ।

वर्ल्ड गोल्ड काउन्सिलका अनुसार अहिले संसारमा सबभन्दा धेरै सुन भण्डार भएका १० देश यी हुन् —

१. अमेरिका – ८,१३३.५ टन (६६२.५ अर्ब डलर) 
२. जर्मनी – ३,३६२.४ टन (२७४ अर्ब डलर)
३. इटाली – २,४५१.८ टन (१९९.७ अर्ब डलर)
४. फ्रान्स – २,४३६.५ टन (१९८.५ अर्ब डलर)
५. रूस – २,२९८.५ टन (१८७.१ अर्ब डलर)
६. चीन – २,०१०.५ टन (१६३.५ अर्ब डलर)
७. स्विट्जरल्यान्ड – १,०४० टन (८४.६ अर्ब डलर)
८. जापान – ८४५.९ टन (६८.८ अर्ब डलर)
९. भारत – ८००.० टन (६५.० अर्ब डलर)
१०. नेदरल्यान्ड्स – ६१२.५ टन (४९.७ अर्ब डलर)