तरकारी बजारमा विषादी परीक्षण

बल्खु तरकारी बजारमा विषादी परीक्षण, विषादीको जोखिम कति ?

बल्खु तरकारी बजारमा विषादी परीक्षण, विषादीको जोखिम कति ?

काठमाडौँ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ । विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारीको नमुना लिएर विषादी परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए । उनका अनुसार, बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमुनाको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको छ । उनले परीक्षण गरिएको सबै तरकारी खान मिल्ने रहेको बताए ।

'आज बल्खुमा अनुगमन गर्‍यौँ, बल्खुमा कालिमाटीबाट तरकारी आउने रहेछ । कालिमाटीबाट आएका तरकारीको बल्खुबाट नमुना संकलन गरेर परीक्षण गरेका छौँ । २० जिल्लाहरू काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, नुवाकोट, रामेछाप, सर्लाही, धनुषा लगायतबाट आएका तरकारीहरूको नमुना संकलन गरेर परीक्षण गरेका छौँ, 'उनले भने ।

उनले अगाडि थपे, 'नेपाल सरकारको मापदण्डअनुसार विषादीको अवशेष ३५ देखि ४५ प्रतिशत भेटियो भने होल्ड गर्छौं । त्योभन्दा बढी भयो भने फाल्नुपर्छ । आज बल्खुमा परीक्षण गर्दा ९ वटा नमुनाको परीक्षण गर्दा बढीमा २० प्रतिशतमात्रै पाएका छौँ । यो रायोको सागमा भेटिएको छ । यो ठिक छ ।'

उनका अनुसार, विषादीजन्य तरकारीको प्रयोगले क्यान्सरजस्ता रोग लाग्ने जोखिम हुन्छ । उपभोक्ताहरूले विषादीबाट बच्न तरकारी किनेर तीन दिनसम्म राख्नुपर्छ । तातोपानीमा नुन राखेर तरकारी डुबाएरमात्रै खानयोग्य हुने उनको भनाइ छ ।

सुवेदीले मोबाइल फुड ल्याब भ्यानबाट विभागले उपत्यकाका सबै तरकारी बजारमा जीवनाशक विषादीको परीक्षण गर्ने अभियान चलाइरहेको जानकारी दिए ।