काठमाडौं। न संसद्को अंकगणित न कुनै विश्वसनीय आधार। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरेक दिन सरकार ढल्ने भाषण गर्छन्। सरकार बन्ने वा ढल्ने कुरा नेपालको राजनीतिमा नौलो होइन।
६ महिना अघिसम्म सरकारको नेतृत्व प्रचण्डले नै गरका थिए। डेढ वर्ष प्रधानमन्त्री बन्दा पाँचपटक विश्वासको मत लिन बाध्य भएका प्रचण्ड सरकारबाहिर पुगेकै दिनदेखि सरकार ढाल्ने कुरा गरिरहेका छन्। लाग्छ कि नेपालमा सरकार बन्ने र ढल्नेबाहेक अरू केही हुँदैन।
प्रतिनिधि सभामा सरकार बनाउन वा ढाल्न कम्तीमा १३८ जना सांसदको समर्थन चाहिन्छ। माओवादी केन्द्रसँग प्रतिनिधि सभामा जम्मा ३२ सांसद छन्। सरकार ढाल्न चाहिने १०६ जनाको जोहो भइसकेको झैँ माओवादी अध्यक्ष प्रचण्ड हरेक दिन केपी ओली नेतृत्वको सरकार ढलिहाल्ने अभिव्यक्ति दिइरहेका छन्।
जबकि कांग्रेस वा एमालेको समर्थनबिना संसद्मा कुनै पनि सरकार बन्न सक्दैन। कांग्रेस र एमालेबीच सत्ता सञ्चालन वा अन्य राजनीतिक विषयमा गम्भीर मतभेदसमेत भएको अवस्था छैन। प्रधानमन्त्री ओली स्वयंले सार्वजनिक रूपमै २०८३ असारमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र २०८४ को चुनाव देउवाको नेतृत्वमा हुने बताउँदै आएका छन्। देउवाले पनि गठबन्धनको भावनाअनुसार काम गर्न मन्त्रीहरूलाई निर्देशन दिँदै सरकार ढल्ने कुनै सम्भावना नरहेको बताइरहेका छन्।
ओली-देउवा सम्बन्ध यथास्थितिमा रहँदासम्म सरकार ढल्ने सम्भावना छैन। संसद्मा कांग्रेस र एमालेका सांसदहरूले मात्रै आरामदायी बहुमत हासिल हुने अवस्था छ। यस्तोमा जसपा नेपाल, लोसपा, जनमत लगायतका पार्टीहरू सरकारमै रहेर साथ दिइरहेका छन्। सतहमा सरकार सुदृढ देखिँदा पनि प्रचण्डलाई किन सरकार ढलिहाल्छ जस्तो लागेको होला?
गत कात्तिक १० गते काठमाडौंमा माओवादीले विरोधसभा आयोजना गरेको थियो। सोही सभाबाट प्रचण्डले सरकार ‘आफैँ कुहिएर ढल्ने’ अभिव्यक्ति दिएका थिए। सो भाषण गरेको तीन महिना बितिसक्दा पनि प्रचण्डको भाषण बदलिएको छैन।
उनले मंगलबार मात्रै चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै ओली नेतृत्वको सरकार ढल्ने मात्रै नभएर भावी सत्ता सहकार्य कांग्रेससँगै हुने दाबीसमेत गरे। ‘विधेयक सदनमा नलगी अध्यादेशबाट देश चलाउन खोजिएको छ। यो सरकार यसै पनि धेरै दिन टिक्दैन। सरकार माओवादीको प्राथमिकता होइन तर ढल्यो भने कांग्रेससँग हाम्रो सहकार्य हुन्छ’, प्रचण्डको भनाइ थियो।
बिहीबार फेरि प्रचण्डले सुर्खेत पुगेर उही कुरा दोहोर्याए। सरकार ढाल्न माओवादी नलागे पनि सरकार छिट्टै ढल्ने प्रचण्ड दाबी छ। ‘यो सरकारको आयु लामो देखिँदैन। तर, माओवादीले सरकार बदल्न खोजेको चैँ छैन’, प्रचण्डको भनाइ छ। उनले सरकार ढाल्न माओवादीले कुनै प्रयत्न नगरेको तर आफ्नै कारणले ढल्ने दाबी गरे।
प्रचण्डले सरकारको भविष्यबारे गत कात्तिकयता गरेका भविष्यवाणी मिलेका त छैनन् तर सत्तारूढ दलहरूले पनि सरकार ढल्ने सम्भावना नरहेको जवाफ दिन थालेपछि भित्रभित्र कुनै खेल भइरहेको आशंका गर्न सकिन्छ।
तर, त्यस्तो खेल पनि कांग्रेसभित्र नभईकन ओली सरकार ढल्ने देखिँदैन। कांग्रेसमा सभापति देउवा मात्रै होइन नेता डा.शेखर कोइरालादेखि महामन्त्री गगन थापासम्मले सरकार अहिले नढल्ने अभिव्यक्ति दिइसकेका छन्। यस्तो अवस्थामा निरन्तर सरकार ढल्ने दाबी गरिरहनु भएका प्रचण्डको अभिव्यक्ति नै विरोधाभाषपूर्ण बनेको छ।
यतिबेला माओवादीले प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीसँग मिलेर विपक्षी मोर्चा बनाएको छ । विपक्षी मोर्चाले संसद्को हिउँदे अधिवेशनमा सरकारविरुद्ध कडा ढंगले प्रस्तुत हुने चेतावनी दिँदै आएको छ।
यद्यपि, विपक्षीको चेतावनी सरकार ढाल्न पर्याप्त हुँदैन । त्यसका लागि निश्चित राजनीतिक कोर्स र संसद्को अंकगणित मिल्न जरुरी हुन्छ। त्यस्तो परिस्थितिको वातावरण नबन्दै सरकार ढल्ने अभिव्यक्ति दिइरहनुलाई कतिपयले सत्ताबाहिर रहनुपर्दाको प्रचण्ड छटपटीका रूपमा पनि व्याख्या गरेका छन्। अधिकांशको प्रश्न छ प्रचण्डलाई संसद्मा अंक नपुगी कसरी ढल्छ सरकार?
हिमालय टाइम्स दैनिकबाट