काठमाडौँ । बिग एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा साइग्रेस पोखरेल नियुक्त भएका छन् । मौलिक शैलिका कथा वाचनका कारण युवा पुस्ता माझ लोकप्रिय पोखरेललाई बिग एजुकेशन कन्सल्टेन्सीले १ बर्षका लागि नियुक्त गरेको हो ।
बुधवार नयाँ बानेश्वरस्थित एक होटलमा आयोजित एक समारोहका बीच दुबै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । बिग एजुकेसन कन्सल्टेन्सीको तर्फबाट प्रबन्ध निर्देशक सर्मिला केसीले हस्ताक्षर गरेकी थिइन् भने दोश्रो पक्षको तर्फबाट साइग्रेसले हस्ताक्षर गरेका थिए ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईको प्रमुख अतिथ्यतासहित इक्यान पदाधिकारीहरू, सञ्चारकर्मीहरू, परामर्श व्यवसायीहरू तथा बिग एजुकेसनका शुभचिन्तकहरूलाई साँची राखेर बिग एजुकेशनले पोखरेललाई नियुक्त गरेको हो । प्रत्येक विद्यार्थीले अलग किसिमको कथा बोकेको हुने र आफ्नो अध्ययन सपना पुरा गर्न उसले गर्ने त्याग, समर्पण र त्यसले दिलाएको सफलता बारे आम विद्यार्थीलाई साइग्रेसको आवाजमा जानकारी दिएर उत्प्रेरित गर्न उनलाई ब्राण्ड एम्बेसडर छानिएको बिग एजुकेसनले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन इक्यान अध्यक्ष भट्टराईले विश्वका प्रतिष्ठित शैक्षिक संस्थामा नेपाली विद्यार्थीको अध्ययन प्रक्रिया सहज बनाउन बिग जस्ता परामर्श व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए । शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन इक्यानले काम गरिरहेको उल्लेख गरेका उनले नेपाली विद्यार्थीको भविष्य निर्माणमा आफूहरू लागिरहेको बताए।
कार्यक्रममा आफ्नो धारणा राख्दै साइग्रेसले अगाडि आउन नसकेका कथाहरूका लागि आवाज बन्ने आफ्नो प्रयास रहेको बताए । एउटा सुन्दर कथा र उदाहरण सहित भनाई सुरु गरेका उनले व्यवसायमा नैतिकताको आवश्यकतामा विशेष जोड दिए । आफू विदेश अध्ययन गर्न जाँदाको अनुभव बाँड्दै परामर्श व्यवसायमा देखिएका समस्या उजागर गरेका उनले विदेश जाने विद्यार्थीका लागि व्यवसायीहरूले जिम्मेवारी लिएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
सो क्रममा कम्पनीका सिइओ सुरज केसीले भने –'साइग्रेस जी निस्कलंक हुनुहुन्छ । युवा पुस्तामा निकै लोकप्रिय हुनुहुन्छ । बिगलाई बिगर र बिगेस्ट बनाउन उहाँको साथ रहने अपेक्षा गरेका छौँ । '
बिग एजुकेसन कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक सर्मिला केसीले साइग्रेसलाई बिग परिवारमा स्वागत गरिन् । उनले यो क्षण ऐतिहासिक भएको भन्दै साक्षी बन्न उपस्थित हुने सबै प्रति आभार प्रकट गरिन् । साइग्रेस सँगको यो सहकार्यले हजारौँ नेपाली विद्यार्थीहरूको विदेश अध्ययनको सपना पुरा गर्न सकारात्मक योगदान दिने विश्वास उनको थियो।