काठमाडौं। नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार सङ्कटमा पर्यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीको छटपटीमात्रै रहेको बताएका छन् । एमाले पर्वतले सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने बताए । ‘सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट भएको हो,’ उनले भने।
मुलुकमा देखिएको सङ्कट समाधान गर्नकै लागि दुई ठूला दल एकठाउँमा आएको उल्लेख गर्दै उनले नेपाली कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताए । वर्तमान सरकार कुनै पनि सङ्कटमा नपर्ने उपमहासचिव ज्ञवालीको भनाइ थियो ।
सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि कुनै पनि हालतमा सरकार नडगमडाउने उनले बताए । कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उनले बताए ।
सरकारले ल्याएको अध्यादेश संविधान अनुसार नै आएको उपमहासचिव ज्ञवालीले बताए । मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग सम्बन्ध नरहेको उनको भनाइ थियो । सरकार भ्रष्टाचारका विरुद्ध निर्मम हिसाबले लागेको उनको दाबी छ । भ्रष्टाचार कुनै सिद्धान्त नभई मुलुकका लागि अभिसाप नै भएकाले जुनसुकै पार्टीसँग आबद्ध भएको व्यक्ति भएपनि कारबाहीको दायरमा ल्याएरै छाडिने उपमहासचिव ज्ञवालीले बताए ।