काठमाडाैं। गाजामा लडाइँ रोक्ने सहमतिलाई अन्तिम रूप दिन वार्ताकारहरूले कतारमा फेरि बैठक गर्न लागेका छन्। युद्धविराम गर्ने सहमतिका लागि इजरेल र हमास दुवै पक्ष सहमतिनजिकै पुगेको सङ्केतहरू प्राप्त भएका छन्।
दुई पक्ष युद्धविराम र बन्धक मुक्तिका सर्तहरू टुङ्ग्याउने चरणमा पुगेको उक्त वार्ताबारे जानकार एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताए। गाजामा युद्ध सुरु भएपछि दुवै पक्षका प्रतिनिधिहरूले पहिलो पटक एउटै भवनमा भेट गरेको बुझिएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सहमति सफल हुने "सँघारमा पुगेको" र आफ्नो प्रशासनले तत्काल सम्झौता गराउन पहल गरिरहेको बताए। त्यसलगत्तै प्यालेस्टिनी पक्षले जारी वार्ताबारे जानकारी दिएको हो।
एक इजरेली अधिकारीले पनि रोएटर्स समाचारसंस्थालाई वार्ता "निकै अगाडिको चरणमा" पुगेको बताएका छन्। उनका अनुसार केही "घण्टा, दिन वा थप केही समयमा" सम्झौता हुन सक्ने सम्भावना छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले आइतवार इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र सोमवार वार्ताको मध्यस्थता गरिरहेका कतारका अमिर शेख तमिम बिन हमाद अल-थानीसँग कुराकानी गरेका थिए।
प्यालेस्टिनी अधिकारीहरूले बीबीसीलाई बताएअनुसार हमास र इजरेली अधिकारीहरूबीच पनि एउटै भवनमा सोमवार अनौपचारिक छलफल भएको थियो।
उक्त सहमतिमा पर्न सक्ने केही सम्भावित विवरणबारे खुलाउँदै ती अधिकारीले भनेका छन् ,"प्राविधिक कुरामा विस्तृत छलफल हुँदा लामो समय लाग्यो।"
दुवै पक्ष पहिलो दिन हमासले तीन बन्धक मुक्त गर्न सहमत देखिएका छन्। त्यसपछि इजरेलले बाक्लो बस्ती भएका क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान सुरु गर्ने छ।
सम्झौताको सात दिनपछि हमासले थप चार बन्धक मुक्त गर्ने र इजरेलले दक्षिणी गाजाबाट विस्थापित भएका मानिसहरूलाई उत्तरतर्फ फर्कन अनुमति दिने छ। तर उनीहरू तटीय मार्गबाट पैदलै फर्कनुपर्ने इजरेलको सर्त छ।
कार, चौपायाले तान्ने गाडा र ट्रकहरूलाई कतार र इजिप्टका प्राविधिक सुरक्षा टोलीले सञ्चालन गर्ने एक्स-रे उपकरणबाट जाँच गराएर सालह अल-दिन सडकसँगैको मार्गबाट पार गर्न अनुमति दिइने छ।
सम्झौताको खाकाअनुसार इजरेली सैनिकहरूले फिलाडेल्फी कोरिडरमा बसेर पूर्वी र उत्तरी सीमामा ८०० मिटरको 'बफर जोन' बनाउने छन्। उनीहरूले पहिलो चरणमा यहाँ ४२ दिनसम्म रहने अनुमति पाउने छन्।
इजरेलले पनि १,००० प्यालेस्टिनी बन्दी रिहा गर्ने सहमति व्यक्त गरेको छ। तीध्ये कम्तीमा १९० जना १५ वर्ष वा त्यसभन्दा धेरै वर्ष जेल सजाय तोकिएका व्यक्तिहरू छन्। त्यसको बदलामा हमासले ३४ बन्धक मुक्त गर्ने छ।
हमासले मुक्त गर्ने बन्धकहरूको सम्भावित सूची यसअघि बीबीसीलाई हमास अधिकारीहरूले उपलब्ध गराएका थिए। उक्त सूचीमा नेपालका विपिन जोशीको नाम छैन।
दोस्रो र तेस्रो चरणको वार्ता युद्धविरामको १६औँ दिनबाट सुरु हुने छ।
बन्धक बनाइएका इजरेली मूलका एक अमेरिकी नागरिकका बुवाले 'बीबीसी न्यूजआवर'लाई इजरेलले सम्झौतामा "हुन्छ" भनेको "आफूले ठानेको" बताएका छन्।
जोनथन डेकल-खेनले आफ्ना छोरा सागुइको चिन्ताका कारण आफू सधैँ "त्रासमा बाँचिरहेको" बताएका छन्।
सम्झौता अन्तिम चरणमा पुगेको थप विवरण आइरहँदा अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले "यसै साता" सम्झौता हुन सक्ने बताएका छन्। जो बाइडनको राष्ट्रपतीय कार्यकाल यो सप्ताहान्तमा टुङ्गिदै छ।
इजिप्टका राष्ट्रपति अब्दुल फतह अल-सिसीसँग पनि आफूले कुराकानी गर्ने बाइडनले बताएका छन्। अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफ पनि दोहा पुगेका छन्।
ट्रम्पले आफूले ज्यानुअरी २० मा कार्यकाल सुरु गर्नुअघि नै बन्धकहरू मुक्त नभए "भयावह अवस्था" निम्तिन सक्ने चेतावनी यसअघि दिएका थिए।
इजरेली विदेशमन्त्री गीडन सारले वार्तामा प्रगति भएको र सम्झौताको "सम्भावना यसअघिको भन्दा राम्रो" देखिएको बताएका छन्। सम्भावित सहमतिप्रति सत्ता साझेदार गठबन्धनबाटै इजरेली प्रधानमन्त्री नेतन्याहूले विरोध खेपिरहेका बेला अहिले वार्ता अन्तिम चरणमा पुगेको हो।
नेतन्याहूको आफ्नै दल लिकुड पार्टीका सदस्यसहित १० वामपन्थी नेताहरूले सङ्घर्षविरामको विरोध गर्दै उनलाई पत्र लेखेका छन्। वार्ता हुँदै गर्दा गाजाको नागरिक प्रतिरक्षा निकायले इजरेलले गाजा सहरमा शृङ्खलाबद्ध आक्रमणमा परी सोमवार ५० भन्दा धेरै मानिसको मृत्यु भएको जनाएको छ।
"उनीहरूले विद्यालय, घर र मानिस भेला भएका ठाउँमा बम प्रहार गरे," उक्त निकायका प्रवक्ता महमुद बसालले समाचारसंस्था एएफपीसँग भने।
इजरेली सेनाले उक्त विवरणबारे बुझ्ने काम भइरहेको जनाएको छ। एक फरक वक्तव्यमा उसले गाजा क्षेत्रको उत्तरी भेगमा सोमवार छ सैनिकको मृत्यु भएको जनाएको छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरेलमा गरेको अप्रत्याशित हमलामा १,२०० जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए।
त्यसपछि हमासविरुद्ध इजरेलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७,००० भन्दा बढी मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हमासले अझै करिब ९४ जनालाई गाजामा बन्धक बनाइरहेको बताइएको छ। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको ठानिएको छ।