अनुसन्धान अधिकृतलाई नै घुस खुवाउन खोज्दा पक्राउ परेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

अनुसन्धान अधिकृतलाई नै घुस खुवाउन खोज्दा पक्राउ परेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई एक लाख रूपैयाँ घूस दिन खोज्दा पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर भएको छ ।

अछामको मेल्लेख गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल नुवाकोटको किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत) ध्रुव प्रसाद सापकोटाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

गत २८ मंसिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा उनी १ लाख घुससहित पक्राउ परेका थिए ।

मेल्लेख गाँउपालिकाको मेसिनरी सामान खरिद सम्बन्धी उजुरीउपर आयोगको कार्यालय, कञ्चनपुरबाट विस्तृत अनुसन्धान भइरहेको उजुरीसँग सम्बन्धित कागजात पेश गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतलाई एक लाख रूपैयाँ घूस दिन खोजेपछि आयोगको कार्यालयबाटै उनी पक्राउ परेका थिए ।

उनले अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम दिँदा अनुसन्धान अधिकृतले ‘आफैंले खोलेर दिनु’ भन्दा सापकोटाले बोकेको हरियो रङको झोलाभित्र रहेको पहेंलो खाममा एक लाख रूपैँया रहेकोमा ‘यो के को पैसा होरु’ भनी सोधपुछ गर्दा ‘मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो’ भनेका थिए ।

आयोगका प्रवत्ता नरहरि घिमिरेका अनुसार उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी बिगो सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।