काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
अख्तियारले बस्नेतमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रालि र यसका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानूनी रूपमा जग्गा तथा रकम लिएर बिक्रीसमेत गरेको आयोगको दाबी छ ।
बस्नेतले नगर प्रमुखको पद ओहदाको दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहको घर/जग्गा व्यवसायी पद्मा कोलोनी प्रालि/पद्मा मर्चेन्ट कम्पनी प्रालि /जगतगुरु कृपालु प्रतिष्ठान नेपालका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट घुस लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको भन्दै मुद्दा दायर गरिएको हो ।
उक्त प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाहरूबाट विदेशी सहायता ७ अर्ब ४८ करोड रुपैयाँ प्राप्त गर्न सहमति दिन लगाएको अभियोगपत्रमा उल्लेख छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत उनले आफ्नै दस्तखतबाट गरी उक्त प्रतिष्ठानको ख्यातिमा वृद्धि गराएको अभियोगपत्रमा उल्लेख छ ।
सोही प्रतिष्ठानले नागार्जुन नगरपालिका भित्र मन्दिर निर्माण गर्ने भनी जग्गा राजुप्रसाद कँडेल तथा उनको कम्पनीहरूलाई उपलब्ध गराउने गरी सम्झौता गराएको पाइएको हो ।
उक्त सम्झौता कार्यान्वयन गर्न/गराउन जग्गाधनीहरूसँग सम्झौता गराइदिएको अभियोगपत्रमा उल्लेख छ ।
नगर प्रमुख बस्नेतले जम्मा ३ करोड ७२ हजार रकम जग्गाधनीहरूलाई भुक्तानी दिई जगत गुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्ने मन्दिरको लागि जग्गा लिने भनी बैनाबट्टा गराएको समेत आज बिशेष अदालत काठमाडौंमा दायर गरिएकाे अभियोगपत्रमा उल्लेख छ ।