काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्रको असन्तुष्टि साम्यभएसंगै पार्टी विभाजनबाट जोगिएको छ । असन्तुष्ट केही नेताहरुलाई स्थायी कमिटीमा ल्याइएको छ । जारी स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँडका साथै आगामी कार्ययोजना ल्याउँदैछ ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौंमा सम्पन्न स्थायी कमिटीको बैठकले ‘एक व्यक्ति एक जिम्मेवारी’ सहित कार्यविभाजन गर्दैछ । केही नेताहरुलाई स्थायी कमिटीमा र केहीलाई महत्वपूर्ण जिम्मेवारी सहित पार्टी निर्माणमा खटाउने नेतृत्वको निर्णयसंगै तत्काल पार्टी विभाजनमा जोगिएको एक पदाधिकारीले जनाएका छन् ।
नेताहरु उत्साहका साथ अब पार्टी निर्माणमा जुट्ने बताइएको छ । एकीकृत समाजवादीमा अब कुनै किसिमको विवाद वा मतभेद नभएको पार्टीले निष्कर्ष निकालेको छ । महाधिवेशन पश्चात पार्टीमा तिक्तता देखिएको भए पनि त्यसलाई समाधान गर्दै प्रत्येक नेतालाई जिम्मेवारी दिदै पार्टी निर्माणमा खटाउने पार्टीले तयारी गरेको छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले स्थायी कमिटी बैठकले तत्काल कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निचोड बैठकले निकालेको जनाएका छन् । बैठकले सबै नेतालाई ठोस जिम्मेवारीका साथ कार्यक्षेत्रमा खटाउने तयारी भईरहेको छ । जारी बैठकले नै निर्णय गर्दै पार्टीलाई अझै बलियो बनाउने निष्कर्ष निकालेको उनले बताए ।
सोमबारको बैठक पश्चात संचारकर्मीसंग प्रवक्ता खतिवडाले भने, ‘देशका अन्य कुनै पार्टीसँग एकीकरण, एकता गर्ने सम्भावना नरहेको जानकारी गराउन चाहन्छौँ । आगामी निर्वाचनमा एकीकृत समाजवादी सशक्त पार्टीको रूपमा उभ्याउने, कलम चिह्नका उमेदवारलाई देशैभरि स्थापित गराउने भन्ने विषयमा छलफल केन्द्रित छ ।’
एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले पार्टी महाधिवेशन पश्चात देखिएको मतभेद, असन्तुष्टिलाई यो बैठकले सम्बोधन गरेको बताए । ‘यस बीचमा पार्टी विभाजनको हल्ला जुन चलाइएको थियो । त्यो हल्ला मात्रै हो । पार्टी एकढिक्का भएर अगाडी बढेको छ । महाधिवेशन पछि देखिएका असन्तुष्टि, मतभेदलाई समाधान गरिएको छ । पार्टी नेतृत्वले सबैको कुरा सुनेर सबैलाई ठोस जिम्मेवारीका साथ कार्यक्षेत्रमा खटाउँने सम्झदारी बनेको छ । बैठकले ठोस जिम्मेवारी तोकेर पार्टी निर्माणको काम अगाडी बढाउदैछ ।’
पछिल्लो समय एकीकृत समाजवादी पार्टी विभाजनको हल्लाले नेताहरु त्रसित बनेका थिए । यस्तै पार्टी माओवादी केन्द्रसंग एकीकरण गर्ने भनिए पनि बैठकले कुनै पनि दलसंग एकता नगर्ने निचोड निकालेको छ ।
एमाले र कांग्रेस मिलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर एकीकृत समाजवादी सहित अन्तरद्धन्द्धमा फसेका साना दलहरू विभाजन गर्ने रणनीति लिएका थिए । त्यसमा ओलीभन्दा बढी एकीकृत समाजवादीकै नेताहरुको सक्रियता रहेको थियो । तर कांग्रेसकै नेताहरुका कारण अध्यादेश नआएपछि एकीकृत समाजवादी सहित अन्तरद्धन्द्धमा फसेका साना दलहरु विभाजनबाट जोगिएका हुन् ।
एकीकृत समाजवादीमा विवाद विभाजनसम्म पुगेपछि असन्तुष्टि र विभाजनलाई रोक्न भन्दै केही नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई ज्ञापनपत्र नै बुझाएका थिए । त्यसैका आधारमा पार्टीमा जिम्मेवारी बाँडफाँड गर्न र स्थायी कमिटीमा बढुवा गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलले तयार गरेको सो प्रस्ताव ’boutमा स्थायी कमिटी बैठकमा छलफल चलिरहेको छ ।
१६ देखि २२ असारसम्म चलेको महाधिवेशनबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र ९३ जना केन्द्रीय सदस्यको सर्वसम्मत भएका थिए ।
बैठकले पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ भने पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ। कार्यविभाजनका सन्दर्भमा आएका सुझावहरुलाई अध्ययन गरि दुई दिनपछि टुंग्याउने खतिवडाले बताए। खतिवडाले बामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा ल्याउनका लागि छलफल भइरहेको र गौतम पनि सकारात्मक रहेको बताए। यसका लागि अन्य प्रक्रियाका कामहरु जारी रहेको उनको भनाइ छ।