काठमाडौं। राष्ट्रिय जेनजी पार्टी नेपालले आज आइतबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।
पार्टीका अनुसार हालै सम्पन्न जेनजी आन्दोलनलाई राजनीतिक रूपले संस्थागत गर्न, प्रतिक्रान्तिबाट जोगाउन र लोकतान्त्रिक निकास खोज्न नयाँ दल आवश्यक भएकाले दल गठन गरिएको हो।
निर्वाचन आयोगले दलको नाम र चिन्हमा पुनर्विचार गर्न सुझाव दिएको छ। आयोगका निमित्त प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शमशेर जबराले नाम र चिन्हमा सुधार गर्न सुझाएका छन्। पार्टीको चिन्ह ‘डबल क्रस खुकुरी’ कायम गरिएको छ।
दलको संघीय कार्यालय अनामनगरमा रहेको छ। विधानअनुसार पदाधिकारीले अधिकतम दुई कार्यकाल मात्रै गर्न पाउने र सबै तहमा ६५ वर्ष उमेर हद तोकिएको छ। पार्टीले सामाजिक उदारवादलाई राजनीतिक सिद्धान्त मानेको छ।
राष्ट्रिय जेनजी पार्टीका मुख्य आधारस्तम्भहरू युवा, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक अल्पसंख्यकको अधिकार र गणतन्त्र रहेका छन्।
दलको अध्यक्षमा ३२ वर्षीय किरण बिक चयन भएका छन्। बुटवलका निवासी बिक जेनजी आन्दोलनका सक्रिय अभियन्ता हुन्। उनी फिल्ममेकिङ र कानुनमा स्नातक तथा अर्बन प्लानिङमा स्नातकोत्तर गरेका छन्।
पार्टीले एजेन्डा मिल्ने दल र समूहसँग सहकार्यको ढोका खुला राखेको जनाएको छ। निर्वाचन आयोगले आवश्यक कागजातसहित कार्तिक ९ गतेभित्र उपस्थित हुन निर्देशन दिएको छ।
राष्ट्रिय जेनजी पार्टी नेपालले सम्पूर्ण जेनजी आन्दोलनका सहभागी, नागरिक र राजनीतिक दलहरूलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ।