मेरिटोक्रेसीका आधारमा त्रिवि विश्वविद्यालय चलाउन प्रधानमन्त्रीको निर्देशन

मेरिटोक्रेसीका आधारमा त्रिवि विश्वविद्यालय चलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन निर्देशन दिएका छन्।

विश्विविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले त्रिविको सिनेट बैठकमा मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय चल्न सक्नेगरी डीन र क्याम्पस प्रमुखहरूको नियुक्त गर्न उपकुलपतिलाई निर्दशन दिएका हुन्।

'त्रिविमा मेरिटोक्रेसी राम्रो हो तर त्यो साँच्चैको हुनुपर्छ। त्यसका नाममा ड्रामा चल्नुहुँदैन,' उनले भने। आफूले साँच्चिकैको मेरिटोक्रेसीमा चलाउनुस् भनेर उपकुलपतिलाई भन्दै आएको पनि प्रधानमन्त्री ओलीले बताए। यद्यपि आफूमाथि त्रिविमा हस्तक्षेप गरेको भन्न आरोप लागेको पनि उनले बताए।

'सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ । मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भन्दै आएको छु,' प्रधानमन्त्री ओलीले भने।प्रधानमन्त्री ओलीले आउँदो पुस ७ गतेसम्म रिक्त रहेका डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गरिसक्न पनि निर्देशन दिएका छन्।

'सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन्, सिङ्गो सामाजिक विषय शिक्षामा आउनुपर्यो । शिक्षा क्षेत्र मुक्तमनले चल्नुपर्छ तर त्रिवि आफ्ना नियम र कानुनको परिधिमा रहेर चल्लुपर्छ,' प्रधानमन्त्री ओलीले भने, ' त्रिविको स्वायत्तता व्यक्तिगत होइन, त्यो स्वायत्तता सिनेटमार्फत् अधिकार प्रत्यायोजन गर्दै लगिने विषय हो।'

प्रधानमन्त्री ओलीले विश्वविद्यालयका समस्या र मागहरुको विधिवत् सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले त्रिविको ऐन, नियम संशोधन गर्दा सम्बन्धित सरोकार भएका पक्षले सचेत भएर ध्यान दिन पनि आग्रह गरे।  

सभाबाट त्रिवि सेवामा प्रवेशका लागि सेवा योग्यता प्रशिक्षण परीक्षाको व्यवस्था गर्ने लगायत १२ बुँदे नीति पारित भएका छन्। प्रधानमन्त्री ओलीले विश्वविद्यालय सुधारका विविध विषयमा अनौपचारिक छलफल गर्न आगामी पुस ७ गतेका लागि समय निर्धारण गरेका थिए।