काठमाडाैं। रूससँग शान्ति सम्झौता गर्न नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकारीसँग युक्रेनले छलफल थालेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीका वरिष्ठ सल्लाहकार आन्द्रइ यरमाकले बुधबार ट्रम्पले रूस र युक्रेनका लागि विशेष दूत चुनेका किथ केलोग र राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि चुनेका माइक वाल्जलाई भेटेको द वालस्ट्रिट जर्नलले लेखेको छ।
ट्रम्पका उपराष्ट्रपति जेडी भान्सले पनि कुराकानीमा भाग लिएका छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले चुनाव प्रचारका क्रममा आफूले जिते रूस-युक्रेन युद्ध २४ घण्टाभित्रै रोकिदिने घोषणा गरेका थिए। कसरी युद्ध रोक्ने भन्ने उनले विस्तृत रूपमा नखुलाए पनि सैन्य सहायता रोक्ने धम्की दिएर युक्रेनलाई पुटिनको सर्त मान्न दबाब दिने अनुमान गरिएको छ।
हाल जुन-जुन ठाउँमा ज-जसले कब्जा गरेको छ ती ठाउँ तत्-तत् देशको नियन्त्रणमा रहने गरी शान्ति सम्झौता गर्न ट्रम्पले प्रस्ताव गर्ने मानिन्छ।
त्यसैले शान्तिका लागि वार्तामा बस्नुअघि रूस सकेसम्म धेरै भूमि कब्जा गर्न लागिपरेको छ भने युक्रेन पनि सकेसम्म रूसलाई रोक्ने प्रयास गरिरहेको छ।
Laxmi bank
वार्तामा बस्नुअघि युक्रेन बलियो अवस्थामा होस् भनेर ट्रम्पले चुनाव जित्ने बित्तिकै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएका थिए।
आफ्नो एक इन्च भूमि पनि रूसलाई नछोड्ने अडान लिँदै आएका जेलेन्सकी अहिले भने युक्रेनलाई नेटोको सदस्यता दिइए अहिले रूसको नियन्त्रणमा रहेको जमिन छोड्न तयार छन्। उनले रूसको नियन्त्रणमा रहेको जमिन पहिले भने जस्तो युद्धबाट नभएर कूटनीतिबाट फिर्ता लिने जिकिर गरेका छन्।
Ncell
ट्रम्प भने युक्रेनलाई नेटो सदस्य दिन तयार नरहेको मानिन्छ।
नेटो तत्कालीन सोभियत संघविरूद्ध खोलिएको सैनिक गठबन्धन भएकाले नेटो सदस्य राष्ट्रमा अमेरिकालगायत अरू सदस्यका सैनिक र हतियार रहन्छन्। त्यस्तै नेटो सन्धिको धारा ५ अनुसार कुनै पनि सदस्यमाथि गरिएको आक्रमण सबै सदस्यमाथि गरेको मानिन्छ। अथवा नेटो सदस्यसँग सानै भए पनि कसैको भिडन्त भए सन्धि अनुसार अमेरिका त्यहाँ युद्ध गर्न आउन बाध्य हुन्छ।
त्यसैले रूससँग युद्ध चलिरहेको बेलामा युक्रेनलाई नेटो सदस्यता दिनुहुँदैन भन्नेमा बाइडेनका पनि धेरैजसो अधिकारी अडिग छन्। तर केही अमेरिकी अधिकारी र केही युरोपेली नेटो सदस्य राष्ट्रहरू भने शीत युद्धकालीन जर्मनीको उदाहरण दिँदै युक्रेनलाई पनि त्यसरी नै सदस्यता दिनुपर्छ भन्छन्।
पश्चिम जर्मनी सन् १९५५ मा नेटो सदस्य बन्दा पूर्वजर्मनी तत्कालीन सोभियत संघको नियन्त्रणमा थियो। त्यस्तोमा नेटो सन्धिको धारा ५ पश्चिम जर्मनीको भूमिमा मात्रै लागु हुन्थ्यो। त्यसैअनुसार शीत युद्धको अन्त्य नहुन्जेलसम्म पश्चिम जर्मनीलाई सोभियत संघबाट जोगायो। सोभियत संघ धेरै कमजोर भएर बिखण्डन हुने बेलामा अन्ततः पूर्व र पश्चिम जर्मनी एकीकरण भए।
अहिले युक्रेनलाई नेटो सदस्यता दिनुपर्छ भनेर जिकिर गर्ने पनि धारा ५ ले शान्ति सम्झौता भएको बेलामा युक्रेनको नियन्त्रणमा रहेको भूमिमा मात्रै लागु हुनुपर्ने भन्छन्। शान्ति सम्झौता विपरीत युक्रेनको नियन्त्रणमा रहेको भूमिमा आक्रमण गरेमा नेटोले युक्रेनका लागि लड्न आउनेछ भनेर पुटिनले फेरि हमला नगर्ने उनीहरूको तर्क छ।
जेलेन्सकीले पनि त्यस्तै माग गरिरहेका छन्। सोभियत संघबाट युक्रेन अलग्गिएपछि बुडापेस्टमा सन् १९९४ मा हस्ताक्षर गरिएको सम्झौताले पुटिनलाई नरोकेको देखाउँदै नेटो सदस्य नबने पुटिनले फेरि आक्रमण गर्ने उनी बताउँछन्।
अमेरिका र रूसले फकाएर बेलायतसहित रोहबरमा युक्रेनको स्वतन्त्रता र सुरक्षाको लिखित ग्यारेन्टी दिँदै बुडापेस्टमा सम्झौता भएपछि मात्रै आफ्नो भूमिमा रहेको सोभियत संघको आणविक हतियार युक्रेनले रूसलाई फिर्ता गर्न मानेको थियो। तर पुटिनले सो लिखित सम्झौताको उल्लंघन गर्दै युक्रेनमाथि आक्रमण गरे।
त्यसैले नेटो सदस्यता लगायत शान्ति वार्ताको खाकाबारे कुरा गर्न जेलेन्सकीका वरिष्ठ सल्लाहकार आन्द्रइ यरमाकले अहिले अमेरिका गएका हुन्।
ट्रम्पले चुनाव जितेपछि रूस-युक्रेन युद्धमा नयाँ तरंग आएको छ।
ट्रम्पले कार्यभार सम्हाल्नअघि युक्रेनले कब्जा गरेको रूसको कुर्स्क क्षेत्रको भूमि फिर्ता गर्न पुटिनले उत्तर कोरियाली सैनिक परिचालन गर्ने भएपछि बाइडेनले युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न गत महिना अनुमति दिए।
त्यसपछि अमेरिका लगायत पश्चिमा राष्ट्रलाई तर्साउन रूसले युक्रेनमाथि नयाँ हतियार प्रयोग गरेको थियो।
युक्रेनले अमेरिकाले दिएको हतियारले रूसले हतियार भण्डारण गरेको ठाउँमा नोभेम्बर १९ मा प्रहार गरेपछि त्यही दिन रूसले आणविक हतियार प्रयोग गर्ने नीति पुनरावलोकन गर्दै प्रयोग गर्ने सीमा घटाएको थियो।
त्यसको दुई दिनपछि अमेरिका लगायत पश्चिमा राष्ट्रलाई तर्साउन रूसले आणविक हतियार राख्न प्रयोग गर्न मिल्ने नयाँ मिसाइल युक्रेनमाथि प्रहार गरेको थियो।
युक्रेनको मध्य सहर डिनिप्रोमा रूसले नयाँ खालको मिसाइल प्रहार गरेको युक्रेनी अधिकारीहरूले जनाए। त्यसको केहीबेरमै रूसले इन्टर-कन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आइसिबिएम) प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले दाबी गरेका थिए।
आणविक हतियारका लागि प्रयोग गरिने लामो दुरीको आइसिबिएम रूसले छिमेकी युक्रेनमाथि प्रहार गरेपछि त्यसले व्यापक चर्चा पाएको थियो।
पश्चिमा अधिकारी र विश्लेषकले भने सो हतियार आइसिबिएम नभएको जिकिर गरेका थिए।
त्यसै साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त रहस्यमयी हतियार मध्यम दुरीको हाइपरसोनिक मिसाइल ओरेस्निक भएको खुलासा गरे। रूसी भाषामा ओरेस्निककको अर्थ कटुसको रूख हो।
युक्रेनले अमेरिकी अट्याक एम्स र बेलायती स्टोर्म सेडो मिसाइल रूसी भूमिभित्र प्रहार गरेको जबाफमा सो हतियार प्रयोग गरेको पुटिनले बताए। साथै सो मिसाइलले ध्वनिको गतिको १० गुणाभन्दा बढी गति (माक १०) हासिल गरेको र पश्चिमा मिसाइल डिफेन्स सिस्टमले त्यसलाई खसाल्न नसक्ने दाबी गरे।
मध्यम दुरीको ब्यालेस्टिक मिसाइलले ३००० देखि ५५०० किलोमिटर टाढासम्म प्रहार गर्न मिल्छ भने अर्को महादेशसम्म प्रहार गर्न मिल्ने आइसिबिएमले ५५०० किलोमिटरभन्दा पर प्रहार गर्न सक्छ।
यी दुवै खाले मिसाइल प्राय: आणविक हतियार प्रहार गर्न प्रयोग गर्ने गरिन्छ। ती मिसाइल परीक्षणको बेला बाहेक युद्धमा खासै प्रयोग गरिँदैन।
रूसले आणविक हतियार राखेर प्रहार गर्न मिल्ने किन्जाल लगायत अरू मिसाइल पहिल्यै युक्रेनमाथि प्रयोग गरेको छ। तर यो नयाँ मिसाइल अरूभन्दा फरक छ। यसमा धेरैवटा आणविक बम राख्न मिल्छ र जमिनमा खस्ने बेलामा ती छुट्टिएर बिस्फोट हुन्छन्। यस्ता खाले मिसाइल आणविक हतियारले प्रहार गर्नका लागि प्रयोग हुन्छ।
ओरेस्निक मिसाइल एकदमै तेज गतिको भएको र यसबाट धेरैवटा बम खसाल्न मिल्ने भएकाले यसलाई खसाल्न असम्भव प्राय: भएको पश्चिमा विज्ञहरूले पनि स्वीकारेका छन्।
बिहीबार युक्रेनमाथि प्रहार गर्दा रूसले ओरेस्निकमा कुनै पनि बम राखेको थिएन। तर आणविक नीति खुकुलो पारेको दुई दिनपछि युक्रेनलाई शक्तिशाली हतियार दिए त्यसमा आणविक हतियार राखेर प्रहार गर्ने भनेर पश्चिमा राष्ट्रलाई तर्साउन रूसले प्रष्ट रूपमा सन्देश दिएको थियो।