भारतीय स्थल सेनाध्यक्ष द्विवेदी काठमाडौँमा

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी काठमाडौँमा

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन्। उनले केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा उनलाई सेनाका उच्च अधिकारीहरूले स्वागत गरेका हुन्।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि द्विवेदी काठमाडौं आएका हुन्। भ्रमणका दौरानमा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

त्यस्तै जङ्गी अड्डामा सम्मान गारत निरीक्षण,प्रधानसेनापति सिग्देलसँग भेटघाट र कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गरिने नेपाली सेनाले जनाएको छ। भ्रमणका दौरान उनी पश्चिम पृतना हेडक्वाटरको भ्रमण पनि गर्नेछन्। 

त्यस्तै नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्रीसँग औपचारिक भेटघाट गर्ने नेपाली सेनाले जनाएको छ।