१७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

१७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

काठमाडौं । सरकारले माघ २२ गतेदेखि पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
 
देशभरका १० देखि १४ वर्षसम्मका बालिकालाई लक्षित गरी खोप अभियान चलाउन लागिएको हो । राष्ट्रिय खोप सल्लाहकार समितिको तथ्यांकमा यो उमेर समूहका बालिकाको संख्या १६ लाख ८८ हजार ७६८ छ ।  

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर खोप अभियान देशैभर सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार अभियानका निम्ति डिसेम्बर दोस्रो साता करिब १७ लाख डोज खोप ल्याउने तयारी भएको छ । 

अभियान १५ दिनसम्म सञ्चालन हुनेछ । यसअघि गएको भदौमा मन्त्रालयले परीक्षणको रूपमा १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका नौ हजार ९८० बालिकालाई एचपीभी खोप दिएको थियो ।