सिंहदरबारबाटै भयो माथिल्लो त्रिशूली थ्री-एको उदघाटन

सिंहदरबारबाटै भयो माथिल्लो त्रिशूली थ्री-एको उदघाटन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार भित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत् आयोजना उदघाटन गरेका छन् ।रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्ले पुगेर आयोजनाको उद्घाटन गरेका हुन् । माथिल्लो त्रिशूली थ्री- ए जलविद्युत् आयोजनाको पहिलो र दोस्रो युनिट (३०–३० मेगावाट) बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो ।

उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ । यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।