देशभर १९ हजार जना डेंगु सङ्क्रमित

देशभर १९ हजार जना डेंगु सङ्क्रमित

काठमाडौं । देशभर डेंगी संक्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को पछिल्लो तथ्यांक अनुसार डेंगी संक्रमितको संख्या १९ हजार ५९९ पुगेको छ । डेंगी संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।

डेंगी संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ । काठमाडौंमा डेंगी संक्रमणबाट हालसम्म तीन हजार एक सय तीनजना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार ८४७ जनामा डेंगी संक्रमण देखिएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा संक्रामक  रोग विशेषज्ञ डा। शेरबहादुर पुन भन्छन्, “पोस्ट मनसुन सुरु हुँदा डेंगीको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेंगीका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु संक्रमण फैलिएको देखिन्छ ।”

विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । 

लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।