काठमाडौं । उपत्यकामा नदी किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।
खोलारनदीको मापदण्ड खारेज गर्नुपर्ने भन्दै गैरन्यायिक सडक तथा मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको हो । उनीहरूले खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
संघर्ष समितिका संयोजक सुमन सायमीले खोलारनदीको मापदण्ड खारेज गर्दै जनतालाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिए । मापदण्ड कायम गर्ने सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारले पुनरवलोकन निवेदन दिएको छ ।