तत्काल बक्यौता भुक्तानी गर्न सरकारसँग निर्माण व्यवसायीको माग

तत्काल बक्यौता भुक्तानी गर्न सरकारसँग निर्माण व्यवसायीको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले बुधबार सिंहदरबारमा कार्यवहाक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै बक्यौता रकम छिटो भुक्तानी गर्न ध्यानाकर्षण गराएको हो ।

राज्यबाट निर्माण व्यवसायीलाई यस आर्थिक वर्षमा भएको आशिंक भुक्तानी समेत विनियोजित बजेटबाट मात्रै भएकाले अब हुने निर्माण कार्यको भुक्तानीमा पनि समस्या हुन सक्नेतर्फ महासंघले सचेत गराएको छ । 

ज्ञापनपत्र बुझ्दै कार्यवहाक प्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले धेरै अप्ठ्यारा चुनौतीहरूको सामना गर्नुपरेको भन्दै सरकारले समाधान गर्ने प्रतिवद्धता जनाए । निर्माण व्यवसायीलाई सहज वातावरण बनाउन आवश्यक परे ऐन तथा नियम नै परिमार्जन गर्ने उनको भनाइ छ ।

महासंघका अध्यक्ष रवि सिंहले विभिन्न आयोजनाका निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४५ अबै रुपैयाँ पुगेको जानकारी दिए । समयमा नै भुक्तानी नहुँदा व्यवसायीहरूले बैंकको ऋण, किस्ता तथा राज्यलाई बुझाउनुपर्ने करको रकम समेत बुझाउन नसकेको उनले गुनासो गरे । 

उनले जतिसुकै भुक्तानी बाँकी भए पनि असार मसान्तमा पाउनु पर्नेमा यसपटक भुक्तानी नै नआएको बताए । महासंघले सरकारले योजनाको प्राथमिकरण गनुपर्ने र कम प्राथमिकतामा परेका योजनाहरू खारेज गर्न सुझाव समेत दिएको छ ।