न्यूनचापीय रेखा नेपालतर्फ सर्दै, चार दिनसम्म भीषण वर्षा हुने

न्यूनचापीय रेखा नेपालतर्फ सर्दै, चार दिनसम्म भीषण वर्षा हुने

काठमाडाैँ । मौसमविद्हरूले बिहीबारदेखि आइतबारसम्म भीषण वर्षाको सम्भावना औंल्याएका छन्।

बंगालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर एकोहोरिएकाले देशभर उच्च वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिए।

उनकाअनुसार मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सरेको छैन। तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय प्रणाली सघनरूपमा विकास भएको छ। त्यसका अतिरिक्त उपल्लो वायमण्डलमा पनि न्यूनचापीप प्रणाली विकास भएको छ।

‘न्यूनचापीय प्रणाली भएर मात्रै हुँदैन। त्यसका लागि जलवाष्पयुक्त वायु पनि चाहिन्छ। अहिले अरब सागर र बंगालको खाडी दुवैतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपालतर्फ सोझिइरहेकाले देशभर उल्लेख्य वर्षाको सम्भावना छ,’ उनले भने।

भारतको राजस्थान, गुजरात, पञ्जाब, महाराष्ट्र, ओडिसा लगायतका भू-भागबाट मनसुन बाहिरिने उपक्रम सुरू भइसकेको छ। नेपालमा भने सरदर मिति (अक्टोबर २, असोज १६) मा मनसुन बाहिरिने सम्भावना देखिएको छैन। मौसमविद्हरूले असोज २१ सम्म मनसुन बाहिरिने सम्भावना नरहेको बताएका छन्।

‘अहिलेको प्रणाली नेपालमा मात्रै पानी पार्न आएजस्तो देखिन्छ। त्यसकारण बिहीबारदेखि आइतबारसम्मै चनाखो हुनुपर्ने देखिन्छ,’ पोखरेलले भने, ‘यो प्रणालीको विशेषता के छ भने यसले छिटोछिटो गति लिइरहेको छैन। छिटो गति नलिँदा यो प्रणाली केही समय रहने देखिन्छ। दसैंको याम छ, मानिसहरू घुमफिरमा निस्कन्छन्। यसका साथै बालीनाली भित्र्याउने पनि बेला भइसकेको छ। तसर्थ अति नै सचेत हुनुपर्ने देखिन्छ।’ 

पछिल्लो २४ घन्टामा इलामको कन्याममा १५१.६ मिलिमिटर वर्षा भइसकेको छ। झापाको बाहुनडाँगीमा १०९.८, झापाकै अनारमनीमा १३२.८, चन्द्रगढीमा १११, कास्कीको लुम्लेमा १२७.४, पश्चिम नवलपरासीमा १०३.८, पछिल्लो तीन घन्टामा गुल्मीको तम्घासमा ६१.८, अर्घाखाँचीको सन्धीखर्कमा ४९ मिलिमिटर वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानले पनि बिहीबारदेखि आइतबारसम्म भारीदेखि अतिभारी वर्षासम्मको पूर्वानुमान गरे। विभिन्न मोडलको अध्ययन भइरहेको बताउँदै उनले कुनकुन ठाउँमा भारी वर्षा हुन्छ भनेर प्रक्षेपण गर्न नसकिने बताए। 

महाशाखाले त्यसको अध्ययन गरिरहेकाले बुलेटिनमार्फत् जानकारी दिइने बताए। यद्यपि देशव्यापीरूपमा मनसुन सक्रिय भएकाले सतर्क रहन उनले आग्रह गरे।महाशाखाले सोमबार साँझ बुलेटिन निकालेर शनिबारसम्मै वर्षाको सम्भावना रहेको बताएको थियो। यसबीचमा २७ जिल्ला जोखिममा रहेको पनि महाशाखाले बताएको थियो।

कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकीका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रूकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके उच्च जोखिममा रहेको महाशाखाले बताएको छ।

त्यस्तै कर्णालीका सुर्खेत, सल्यान, रूकुम पश्चिम, जाजरकोट र दैलेख तथा सुदूरश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी उच्च जोखिममा छन्। धेस र बागमती प्रदेशमा भने उच्च जोखिम नरहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशका १२ जिल्ला, मधेसका चार जिल्ला, बागमतीका १३, गण्डकीका तीनवटा जिल्ला, लुम्बिनीका तीनवटा, कर्णाली दुई र सुदूरपश्चिमका पाँच जिल्ला मध्यम जोखिममा छन्।

८ जिल्ला भने न्यून जोखिममा छन्। मधेसको सिरहा, धनुषा, सर्लाही र महोत्तरी, गण्डकीको मुस्ताङ, कर्णालीको डोल्पा, मुगु र हुम्ला न्यून जोखिममा छन्। यद्यपि यी जिल्लाले पनि सतर्कता भने अपनाउनुपर्ने छ।