धान नकाट्न वडा–वडामा प्रहरीको माइकिङ

धान नकाट्न वडा–वडामा प्रहरीको माइकिङ

माइकिङ गर्दै धनगढी उपमहानगरका नगर प्रहरी। माइकिङ गर्दै धनगढी उपमहानगरका नगर प्रहरी।जल तथा मौसम विज्ञान विभागले आइतबारसम्मै पानी पर्ने पूर्वानुमान गरेपछि धनगढी उपमहानगरपालिकाले वडामा माइकिङ थालेको छ।

नगर प्रहरीले वडा-वडामा पुगेर पानी पर्ने भएकोले धान नकाट्न माइकिङ गरेका हुन्। धनगढी उपमहानगरका मेयर गोपाल हमालले धानबाली नकाट्न र काटिसकेको भए तत्काल भित्र्याइहाल्न आग्रह गर्दै वडावडामा माइकिङ भइरहेको जानकारी दिए।

जल तथा मौसम विज्ञान विभागले गत असोज ७ गते साँझ विशेष बुलेटिन निकालेर शनिबारसम्म मनसुन सक्रिय रहने जानकारी दिएको थियो। त्यसपछि उपमहानगर सक्रिय हुँदै धानबाली नकाट्न सूचित गरेको हो। दाङको गढवा गाउँपालिकाले पनि धान नकाट्न कृषकलाई आग्रह गरेको छ। 

‘नेपाल सरकार मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले असोज ७ गते प्रकाशित गरेको सूचनाअनुसार असोज १२ गतेसम्म लागि मनसुनी वर्षाको कारणले मौसममा बदलाब आइ मेघ गर्जन(चट्याङ हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। सो वर्षाले विशेषतः कृषि क्षेत्रमा प्रभाव पार्न देखिएकाले यस गढवा गाउँपालिकाका सम्पूर्ण कृषकलाई उल्लिखित मितिसम्म धान नकाट्न हुन र काटिसकेको धान बाली भए खेतमा नछोडी सुरक्षित ठाउँमा राख्नु हुन अनुरोध छ,’ गाउँपालिकाले सूचना जारी गर्दै भनेको छ।

यसअघि २०७८ असोज मसान्तदेखि कात्तिकसम्म परेको अविरल वर्षाले धानबालीमा असर पुर्‍याएको थियो।त्यतिबेला देशभर ११ हजार ६०९ हेक्टरमा लगाइको धानबालीमा वर्षाले क्षति पुर्‍याएको थियो। लुम्बिनीमा ४२ हजार ४२७, सुदूरपश्चिममा ३६ हजार ४५५, मधेसमा १५ हजार १४६, कोसीमा १३ हजार ९२, कर्णालीमा २ हजार ४६७, गण्डकीमा १ हजार १९२, बागमतीमा ५३० हेक्टरमा लगाएको धानबालीमा क्षति पुगेको थियो।

जसबाट ११ अर्ब ८७ करोडको नोक्सानी बेहोर्नु परेको थियो। त्यसैले कृषि कर्महरू सुरू गर्नुभन्दा अगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न विभागले आग्रह गरेको छ।

तराईका केही भूभागमा र पहाडका केही ठाउँमा धानबाली भित्र्याउने समय हुन लागेकाले धानबाली काट्न नहतारिन मौसमविद्ले सुझाव दिएका छन्।
मौसमविद् प्रतिभा मानन्धरले यसवर्ष मनसुन लम्बिने संकेत देखिएको बताएकी छिन्। यस वर्ष मनसुन बाहिरिने सरदर मितिभन्दा पाँच दिन लम्बिने सम्भावना रहेको उनले बताइन्। नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (असोज १६ गते) हो ।

तर यसपटक असोज २१ गतेसम्म रहने देखिएको उनले बताइन्। यस वर्ष दसैंमा पनि पानी पर्ने सम्भावना रहेको उनले बताइन्।