मनसुन झन सक्रिय, यस्तो छ चार दिनको मौसम पूर्वानुमान

मनसुन झन सक्रिय, यस्तो छ चार दिनको मौसम पूर्वानुमान

काठमाडौँ । मंगलबारदेखि सक्रिय भएको मनसुनले शनिबारसम्म सबै प्रदेशका केही स्थानहरूमा वर्षा गराउने पूर्वानुमान छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेर बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावको कारण मंगलबारदेखि मनसुनी प्रणाली सक्रिय भएकाले सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिएको हो।

पछिल्लो तीन घन्टामा कोशी प्रदेश र लुम्बिनी प्रदेशमा वर्षा भएको छ। इलामको माइपोखरीमा ३०.२ मिलिमिटर, शोक्तिम टी इस्टेटमा १२.२ मिलिमिटर, झापाको बाहुनडाँगीमा १६.८ मिलिमिटर, सिस्नेमा ९.६ मिलिमिटर, दमकमा २२.२ मिलिमिटर, पाल्पाको बल्ढ्याङगढीमा ४९ मिलिमिटर र अर्घाखाँचीमा २४.४ मिलिमिटर वर्षा पछिल्लो तीन घन्टामा मापन भएको छ।

महाशाखाले मंगलबार राति कोशी, मधेस, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। बुधबार सुदूरपश्चिमका एक-दुई स्थानमा तथा बिहीबार गण्डकी, लुम्बिनी, सुदूरपश्चिमका थोरै तथा कोशी प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ।

यो अवधिमा महाशाखाले पाँच प्रदेशका २७ जिल्लाहरू उच्च जोखिममा रहेको औंल्याएको छ। कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकीका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रूकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके उच्च जोखिममा छन्।

त्यस्तै कर्णालीका सुर्खेत, सल्यान, रूकुम पश्चिम, जाजरकोट र दैलेख तथा सुदूरश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी उच्च जोखिममा छन्। मधेस र बागमती प्रदेशमा भने उच्च जोखिम नरहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशका १२ जिल्ला, मधेसका चार जिल्ला, बागमतीका १३, गण्डकीका तीनवटा जिल्ला, लुम्बिनीका तीनवटा, कर्णाली दुई र सुदूरपश्चिमका पाँच जिल्ला मध्यम जोखिममा छन्।