धनराजलाई उपसभापति र सांसद पदबाट राजीनामा दिन कांग्रेस नेता प्रधानको सुझाव

धनराजलाई उपसभापति र सांसद पदबाट राजीनामा दिन कांग्रेस नेता प्रधानको  सुझाव

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले धनराज गुरुङले पार्टी उपसभापति र सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले पार्टी उपसभापति धनराज गुरुङमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरू भएकोले तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

‘यो त उहाँले आत्मनिर्णय र आत्मसमिक्षा गर्ने कुरा हो। विगतमा शेरबहादुर तामाङ, रामशरण महत, केशरबहादुर विष्टले पनि राजीनामा दिनुभयो । आत्मसमिक्षा गर्नुपर्छ । धनराजले संसदमा नै यदि त्यस्तो हो भने ममाथि छानबिन होस भन्नुभयो। छानबिनले कारबाही सिफारिश गरेको छ। कांग्रेसले उहाँसँग छलफल गर्नुभन्दा अगाडि धनराजले छानबिनको रिपोर्ट नआएसम्म पार्टी र संसद्को बैठकमा उपस्थित हुन्नँ भन्नुपर्यो,’ उनले भने, ‘अहिले नै संसद्बाट पनि राजीनामा दिन सकिन्छ । भुटानी शरणार्थी प्रकरणमा खाँणमाथि पनि राजीनामाको विषय उठेको थियो । स्वविवेकले राजीनामा दिनुपर्छ भन्ने हो मेरो त । उहाँले उपसभापतिबाट राजीनामा दिनुपर्छ।’