धनराजको श्रीमतीसँग ‘सहकारी डिभोर्स’!

धनराजको श्रीमतीसँग ‘सहकारी डिभोर्स’!

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको स्थलगत निरीक्षण गरेको छ।

निरीक्षणका क्रममा समितिका पदाधिकारीहरुले सो सहकारीका अध्यक्ष कुम्मराज गुरूङसँग छलफलसमेत गरेको छ।

मितेरी सहकारी अहिले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग जोडिएर चर्चामा छ। धनराजकी तत्कालीन श्रीमती ज्योति गुरुङ सो सहकारीको सञ्चालक थिइन्। धनराज र ज्योतिबीच २०७६ सालमै सम्बन्धविच्छेद भइसकेको छ। मितेरीबाट धनराज र उनकी तत्कालीन श्रीमती ज्योतिले १५ करोड अपचलन गरेको आरोप छ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीलगायत निरीक्षणमा गएका पदाधिकारीहरुले अध्यक्ष गुरुङसँग सो सहकारीबाट धनराज र ज्योतिले गरेको अपचलनको बारेमा प्रश्न गरेका थिए। मितेरीका अध्यक्ष कुम्मराजले धनराज र ज्योतिले हिनामिना गरेको रकम फिर्ता हुँदा सबै बचतकर्तालाई बचत फिर्ता गर्न सकिने बताए।

उनीहरुबीच ०७६ सालमै डिभोर्स भएको भनिए पनि धनराजले केही महिनाअघि आएर ज्योतिको केही ऋण तिरेको अध्यक्ष कुम्मराजले बताए। ‘धनराजले आएर तिरेको। धेरै भएको छैन, एक महिना जति भयो होला । डिभोर्सको कुरै नगर्नुस् । डिभोर्स भएकै होईन वास्तविक,’ कुम्मराज भन्छन्।

कुम्मराजले यसो भनेपछि समितिका एक सदस्यले ‘सहकारी डिभोर्स’ भनी टिप्पणी गर्छन्।