पूर्व-पत्नीका कारण कांग्रेस उपसभापतिलाई तनाव

पूर्व-पत्नीका कारण कांग्रेस उपसभापतिलाई तनाव

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारीको रकम हिनामिनामा जोडिएका छन्। संसदीय समितिमा ललितपुरको ‘मितेरी बचत तथा ऋण सहकारी संस्था’का अध्यक्षसमेत रहेका कुम्मराज गुरुङले दिएको बयानपछि सांसदसमेत रहेका गुरुङ पनि सहकारी प्रकरणमा मुछिएका हुन्।

अध्यक्ष गुरुङले भदौ ६ गते समितिमा उपस्थित भएर बयान दिएका थिए। बयानका क्रममा उनले धनराज गुरुङकी श्रीमती ज्योती गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोडसम्म रकम हिनामिना भएको बताएका थिए। त्यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको उनको भनाइ थियो। तर, पाँच वर्षअघि नै ज्योतिसँग सम्बन्धविच्छेद भइसकेको गुरुङको दाबी छ।

ज्योति चार वर्षदेखि फरार सूचीमा छिन्। तर, गुरुङ र ज्योतिबीच कागजी रूपमा मात्रै ‘डिभोर्स’ भएको दाबीसमेत पराजुलीले बयानमा गरेका छन्। ज्योति सहकारीको महाप्रबन्धक रहेका बेला रकम हिनामिना गरेको उनको आरोप छ। यसबारे संसद्मा समेत कुरा उठेको छ। ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको पराजुलीको दाबी छ।

तर, कांग्रेस उपसभापति गुरुङले भने श्रीमतीसँग पाँच वर्षअघि नै सम्बन्धविच्छेद भइसकेकाले रकम हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको दोहोर्‍याएका छन्। सम्बन्धविच्छेद भइसकेकी श्रीमतीबारे आफूलाई थाहा हुने कुरै नभएको उनले बताए।

सम्बन्धविच्छेद भएकी श्रीमतीका कामको जिम्मेवारी पनि आफूले नलिने उनको भनाइ छ। ‘सम्बन्धविच्छेद भएकी श्रीमतीबारे थाहा हुने कुरा भएन। सम्बन्धविच्छेद भएकी श्रीमतीका कामको जिम्मेवारी त लिनै पर्दैन,’ उनले भने। सहकारी ठगी प्रकरणमा आफूलाई जोड्न नमिल्ने उनले बताइ। ज्योतिसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धविच्छेद भएकाले आफूलाई सहकारी ठगी प्रकरणमा जोड्न नमिल्ने उनको भनाइ छ।

कांग्रेस उपसभापति गुरुङले सहकारी ठगी प्रकरणमा आफूमाथि छानविन गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ज्योतिसँग सम्बन्धविच्छेद भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आफूमाथि छानविन गर्न माग गरे। सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पत्नी ज्योति गुरुङ मितेरी सहकारीको ठगी प्रकरणमा दोषी रहेको भन्दै कांग्रेस नेता धनराज गुरुङमाथि छानविन गर्न माग गरेका थिए। गुरुङले भने आफू छानविनका लागि तयार रहेको बताए। ‘संसदीय छानविनका लागि पनि म तयार छु, मेरो लागि यो सुवर्ण अवसर हुनेछ’, उनले भने।

विगतमा पनि आफूलाई आरोप लाग्दा अदालतबाट निर्दोष प्रमाणित भएको भन्दै सांसद गुरुङले मितेरी सहकारीको रकम अपचलनमा आफूमाथि छानविन गर्न माग गरे। ‘कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा म अडिग छु’, उनले भने। सहकारीको रकम अपचलनबारे संसदीय छानविन समितिको प्रतिवेदन आउने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले विषयान्तर गर्न मात्र आफ्नो विषय उठाएको उनले आरोप लगाए। रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगीबारे छानविन गरिरहेका बेला त्यसलाई अन्तै मोड्न आफूमाथि आरोप लगाएको उनले जिकिर गरे।

ज्योतिसँगको सम्बन्धविच्छेद नक्कली भन्ने रास्वपा सांसद पराजुलीको भनाइको पनि उनले खण्डन गरे। ‘जसले नक्कली कुरा गर्छ, त्यसले अरूलाई नक्कली देख्नु स्वाभाविकै हो’, उनले भने। ‘संसदीय छानविन नै गर्नुपर्छ भने पनि म तयार छु । मेरो लागि यो सुवर्ण अवसर हुनेछ । तथापि, प्रमाण लुकाउन सक्ने गृहमन्त्रीजस्तो जिम्मेवार पदमा म छैन । म निष्ठा र नैतिकताको राजनीतिमा विश्वास गर्दछु,’ उनले भने, ‘मेराबारे लागेको आरोपको सत्यतथ्य छानविन गरिदिन म सम्बद्ध निकायहरूलाई आग्रह गर्दछु ।’ उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीको पदाधिकारीमाथि पनि छानविन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरे ।