पहिरोले घर पुरिँदा वडासदस्यका दम्पती बेपत्ता

पहिरोले घर पुरिँदा वडासदस्यका दम्पती बेपत्ता

काँक्रेविहार । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरो खस्दा वडा सदस्यका दम्पती बेपत्ता भएका छन्।  गएराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदाँ महिला वडा सदस्यका दम्पती बेपत्ता भएका हुन्। 

बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउनेको घर पहिरोले पुरिँदा पतिपत्नी नै बेपत्ता भएका जानकारी दिए। 

‘गए राति पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी चलाउने र उहाँका श्रीमान ४७ वर्षीय मानबहादुर चलाउने बेपत्ता हुनु भएको छ्,’ अध्यक्ष महताराले भने। पहिरोमा पुरिएकी उनीहरुकी १९ वर्षीय छोरी सम्झनाको उद्धार गरेर अहिले उपचारका लागि अस्पताल लगिएको छ।

अध्यक्ष महताराले वडासदस्य दम्पतीको अवस्था अझै अज्ञात रहेको बताए। स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले बेपत्ताको खोजी गरिरहेको छ। 
वडाध्यक्ष महताराका अनुसार बेपत्ता दम्पतीका १९ वर्षीया छोरीलाई घाइते अवस्थामा उद्धार गरेर अस्पताल लगिएको हो। तर, त्यो क्षेत्रमा यातायातको सुविधा नभएका कारण बोकेरै उनलाई उपचारका लागि लगिएको हो। 

उनको हात र मुखमा चोट लागेको छ। तर, बोल्न सक्ने अवस्थामा छिन्। सोही घरमा बास बसेकी वडासदस्य चलाउनेका जेठाजुकी छोरी १८ वर्षीया बिमला चलाउनेलाई भने केही भएको छैन्। उनी पहिरोले घर पुरिँनुभन्दा अघि नै सकुशल बाहिर निस्कन सफल भएकी जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

घाइतेलाई अस्पताल पुर्याउन हेलिकप्टर मगाइएको उनले बताए। घर जीर्ण अवस्थाको रहेकाले पहिरोका कारण भत्ताभुंग भएको छ। गत कार्तिकमा गएको भूकम्पका कारण चलाउनेको घर चर्किएको थियो। सोही कारण उनीहरुको परिवार असार र साउन महिनाभर त्यो घरमा नबसेर बाहिर सुरक्षीत टाउँमा बसेका वडाध्यक्ष महताराले बताए।