एमाले-कांग्रेस दूरी बढ्दै, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समभावा कति?

एमाले-कांग्रेस दूरी बढ्दै, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समभावा कति?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख सत्तासाझेदार नेपाली कांग्रेससँग असन्तुष्ट बनेका छन्। कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संयुक्त गठबन्धनको सरकारको नेतृत्व ओलीले गरिरहेका छन्। कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेको एमाले अध्यक्ष ओलीले आफ्नो बचाउमा कांग्रेस नलागेको भन्दै असन्तुष्टि पोखेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि विपक्षी नेताहरू ओलीको खरो आलोचना र विरोधमा लागेका छन् । सोही कारण प्रधानमन्त्री ओलीले आफूलाई घेराबन्दी गरिरहेको भन्दै त्यसको बचाउमा लाग्नुपर्ने एमालेको पोलिटब्युरो बैठकमै बताए ।

प्रचण्डले ओली नेतृत्वको सरकार अपराधी र भ्रष्टाचारी जोगाउन बनेको सरकार भएको टिप्पणी गरेका थिए । प्रचण्डले संसद्देखि सडक एवं सार्वजनिक कार्यक्रममै ओली नेतृत्वको सरकारको आलोचना गर्दै आएका छन् । ओलीको विरोधमा प्रचण्ड मात्रै नभई विपक्षी दलका नेताहरूले आलोचना एवं विरोध निरन्तर रूपमा गर्दै आइरहेका छन् ।

कांग्रेसका कतिपय नेता एवं सांसदले समेत ओली नेतृत्वको सरकारमाथि तीखो प्रश्न उठाउन थालेका छन् । विपक्षीले प्रश्न उठाउनु, घेराबन्दी गर्न थालेपछि त्यसको प्रतिकार गर्नुको साटो कांग्रेसकै नेताहरूले समेत प्रश्न उठाउनुले ओली कांग्रेसबाट असन्तुष्ट बनेका हुन् ।

‘यो कांग्रेस र एमालेको संयुक्त गठबन्धनको सरकार हो, विपक्षीले आलोचना र विरोध गरेपछि त्यसको प्रतिकार गर्न आवश्यक छ, सबैले मिलेर त्यसको प्रतिकार गर्नुपर्छ, तर कांग्रेसकै कतिपय नेताहरूले सरकारको आलोचना र विरोधमा समय खर्चिरहेका छन्, त्यो जायज होइन,’ ओलीले आफूनिकटका नेताहरूसँग गुनासो पोख्ने गरेका छन् ।

एमाले र कांग्रेस दुवै दल माओवादी केन्द्रबाट पालैपालो धोखा पाएपछि राजनीतिक स्थायित्व, संविधान संशोधनलगायतका मुद्दामा सहमति गरेर गठबन्धन गरेका हुन् । तर, सत्तासहकार्य सुरु भएको दुई महिना नपुग्दै एमाले र कांग्रेसका बीचमा दूरी बढ्दै गएको छ ।

उच्च स्रोतका अनुसार नयाँदिल्ली भ्रमणमा गएकी परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवाले नयाँदिल्लीमै प्रचण्डका छोरीसँग गोप्य भेटघाट गरेको सत्ता समीकरण हेरफेर’boutमा छलफल गरेको सूचनाले समेत प्रधानमन्त्री ओली कांग्रेस सभापति देउवासँग असन्तुष्ट छन् ।

सोही कारण एमाले र कांग्रेस नेताहरूले बारम्बार यो गठबन्धन कायम रहने र दुई दलका बीचमा भएको सहमति कार्यान्वयन हुने बताउँदै आएका छन् । कतिपयले सत्तासमीकरण बदलिनसक्ने बताउँदै नयाँदिल्लीले कांग्रेस र माओवादी केन्द्रलाई मिलाउन लागेको समेत बताउँदै आएका छन् । त्यसकारणसमेत ओली कांग्रेससँग सशंकित भएका छन् ।

राजनीतिक स्थायित्वका लागि मिलेका कांग्रेस र एमालेबीचमा छोटो समयमै मतभेद देखिनथालेको संकेत देखिनथालेको छ । अहिले कांग्रेस नेताहरू मात्रै नभई रास्वपाका नेतासमेत ओली सरकारका विरुद्धमा आक्रमण शैलीमा प्रस्तुत हुने गरेका छन् ।

कांग्रेसका सबै नेताहरू सरकारको बचाउ र प्रतिकारमा उत्रेका छैनन् । कांग्रेस नेताहरूले उल्टै प्रधानमन्त्री र मन्त्रीहरूविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । कांग्रेस नेताहरू डा. शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, विरोध खतिवडा, शंकर भण्डारीलगायतका नेताहरूले प्रधानमन्त्री ओली र मन्त्रीहरूमाथि खरो प्रश्न उठाउँदै आएका छन् ।

कोइरालाले संविधान संशोधनको विषयमा असन्तुष्टि जनाउँदै आएका छन् भने महामन्त्री थापाले ओली सरकारका मन्त्रीहरूको कामकारबाहीप्रति हैरानी भएको र मन्त्रीहरू कामभन्दा चर्का भाषणमा लागेको आरोप लगाउन थालेका छन् । त्यस्तै, प्रधानमन्त्री ओली नै मुछिएका गिरीबन्धु टी–इस्टेट प्रकरणमा छानबिन गर्नुपर्ने थापाले संसद्मै माग गर्न थालेका छन् ।

अर्का महामन्त्री शर्मा पनि एमालेसँगको विमतिमा चुप लागेर नबस्ने बताउन थालेका छन् । एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबर्जस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने उनको भनाइ छ ।

त्यस्तै, कांग्रेस सांसद रामहरि खतिवडा पनि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध खनिएका छन् । मन्त्री गुरुङले दिएको ‘आईजीको जिभ्रो थुत्ने’ अभिव्यक्तिप्रति नेता खतिवडाले आपत्ति मात्रै जनाएनन्, खरो रूपमा विरोध गरेका छन् ।

गत मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद खतिवडाले मन्त्रीहरूलाई आफ्नो भनाइमा ‘ब्रेक’ लगाउन आग्रह गर्दै भने, ‘माननीय सूचना तथा सञ्चार प्रविधिमन्त्रीले नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ, यो अभिव्यक्ति आपत्तिजनक छ, मन्त्रीहरूलाई आग्रह गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयोस् ।’

त्यसअघि कांग्रेसकै अर्का सांसद शंकर भण्डारीले विज्ञप्ति नै निकालेर मन्त्री गुरुङको अभिव्यक्तिको भत्र्सना गरे । उनले मन्त्री गुरुङलाई बर्खास्ती नै गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् । शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री ओली हुने पनि सांसद भण्डारीको चेतावनी छ । कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत नेताहरूले ओलीप्रति अविश्वास र मन्त्रीहरूले सहकार्य कठिन भइरहेको ब्रिफिङ गरेका थिए ।

कांग्रेसका इतरपक्षीय नेताहरू सरकारप्रति आक्रामक भइरहँदा छैटौंपटक प्रधानमन्त्री बन्ने पालो कुरिरहेका कांग्रेस सभापति देउवा भने एमालेप्रति निकै विश्वस्त छन् ।

कि राजनीति गर्नु, कि पार्टी छाडेर ‘इन्जोय’ गर्नु
 

यसैबीच, प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले पार्टीका नेताहरू महेश बस्नेत, गुलावजंग शाह र ऐन महरलगायतका नेताहरूलाई कि राजनीति गर्न, कि पार्टी छाडेर ‘इन्जोय’ गर्न विकल्प दिएका छन् ।

पार्टीका नेता कार्यकर्ताहरूमा अनुशासनहीन, चरित्रहीन र नैतिकहीन गतिविधि बढेको भन्दै अध्यक्ष ओलीले बस्नेत, शाह र महरलगायत नेताहरूलाई कि राजनीति गर्न, कि पार्टी छाडेर ‘इन्जोय’ गर्न विकल्प दिएका हुन् ।

एमाले पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले भने, ‘कि राजनीति गर्नुपर्छ, कि इन्जोय रोज्नुपर्छ, दुवै एकैपटक गर्न पाइँदैन, एमाले कुनै ढल होइन, आचरणहीन, नैतिकहीन, चरित्रहीन कुरालाई पार्टीले कुनै हालतमा सहँदैन र त्यो व्यक्ति एमाले हुन सम्भव छैन ।’

विशेषगरी बस्नेत, शाह र महर यौन प्रकरणमा जोडिएका प्रसंगसमेत बाहिर आएका छन् । त्यसबाहेक कतिपय नेता कार्यकर्ता आर्थिक अनुशासनको दायराभन्दा बाहिर गएर गतिविधि गर्ने गरेका गुनासा छन् ।

अध्यक्ष ओलीले प्रवृत्तिगत रूपमा पार्टीमा मौलाएका विभिन्नखाले अराजकता तथा आर्थिक, नैतिक र चारित्रिक रूपमा उठेका प्रश्नमा छानबिन हुने र आएको नतिजालाई कडाइका साथ कार्यान्वयनमा लैजाने बताएका थिए ।